संसद अधिवेशन अन्त्य गर्ने निर्णयप्रति कांग्रेसको आपत्ति, भन्यो– सरकार भाग्यो-Sutra News

संसद अधिवेशन अन्त्य गर्ने निर्णयप्रति कांग्रेसको आपत्ति, भन्यो– सरकार भाग्यो

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी ठगी प्रकरणमा मन्त्रीबारे प्रश्न उठ्न थालेपछि संसद्को अधिवेशन अन्त्य गरिएको आरोप लगाएको छ । कांग्रेसले संसद बैठक अन्त्य गर्ने सरकार निर्णयको विरोध गरेको छ ।



संसद बैठक अन्त्य गर्ने निर्णय सरकारको लाचारी र गैरजिम्मेवारी शैलीको भएको कांग्रेसको निष्कर्ष छ । आइतबार बसेको कांग्रेस संसदीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदप्रति गैरजिम्मेवार बन्दै सरकार भागेको आरोप लगाए ।

“सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर, सार्थक गरी निष्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकार बेवास्ता संसदबाट भाग्ने काम गरेको छ”, लेखकले भनेका छन्, “संसदप्रति उत्तरदायी, जवाफदेही हुनुपर्नेमा संसदीय व्यवस्थालाई नै कमजोर बनाउने गरी सरकारले हर्कत देखाएको छ, यो हाँस्यास्पद मात्र होइन, लज्जास्पद पनि छ ।”

प्रमुख प्रतिपक्षीको भूमिका पुगेसँगै नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको छ । सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । यद्यपि, सत्ता साझेदार दलहरुले कांग्रेसको उक्त मागलाई अस्वीकार गरिरहेका छन् ।

सहकारी प्रकरणलाई लिएर संसदमा कांग्रेसले अवरोध गरिरहेकै बीच सरकारले आइतबार मध्यरातिदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारको उक्त कदमप्रति कांग्रेसले संसदीय दलको बैठक बसेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट