‘डिग्री माइला’को देशैभर आक्रामक व्यापार, दयाको जन्मदिनमा शीर्ष गीत सार्वजनिक-Sutra News

‘डिग्री माइला’को देशैभर आक्रामक व्यापार, दयाको जन्मदिनमा शीर्ष गीत सार्वजनिक

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्ने फिल्म ‘डिग्री माइला’ रिलिजमा आएको आज दोस्रो दिन भएको छ। नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । बिहानैदेखि फिल्मले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माण पक्षले दिएको छ।



शुक्रवार बिहानी शोमा औसत सुरुवात गरेको फिल्मले मध्यान्हबाट हाउसफुल व्यापार गरेको र शनिबार भने बिहानैदेखि दर्शकहरू हलमा ओइरिको, प्राय: सबै शोहरु बिहानैदेखि हाउसफूल भएको, बुकिङको अनुपात हेर्दा देशैभर सिनेमाले हाउसफूलको व्यापार गर्ने निश्चित रहेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

फिल्मले पहिलो दिन (शुक्रबार) देशभर २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गर्‍यो । शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ ।

वितरक शाही भन्छन्, ‘देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भइरहेका छन् । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ । ‘वर्ड अफ माउथ’ सुखद् मिलेकाले दिउँसोबाट हलमा दर्शकको चाप थप बढ्ने निश्चित प्रायः छ । यसरी हेर्दा नयाँ वर्षमा मात्र फिल्मको व्यापार डेढ करोडमाथि हुने सम्भावना देखिन्छ ।’

यता, ‘डिग्री माइला’ प्रदर्शनमा आएसँगै फिल्मप्रति दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको छ । उनीहरू हलहलमा पुग्दा दर्शकहरूले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मासहितका कलाकारहरूले हल पुगेर दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया बुझिरहेका छन् ।

फिल्म हेरेका दर्शकले फिल्मको विषय, कलाकारको अभिनय आफूहरूलाई मनपरेको प्रतिक्रिया दिएका छन्। दर्शकहरूले फिल्मको तारिफ गर्दा ‘डिग्री माइला’ टिमको मुहारमा खुसी देखिएको छ । शनिबार दयाहाङको जन्मदिन समेत परेको छ । उनले कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको टिमसँग केक काट्दै जन्मदिन सेलिब्रेट गरेका छन् ।

यसैबीच, रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को शीर्ष गीत फिल्मका मुख्य कलाकार दयाहाङको जन्मदिनको अवसर पारेर ‘म डिग्री माइला हो’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन्। गीतमा स्वपनिल स्मृतिको शब्द रहेको छ। गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ। भिडियो फिल्मको थिममा आधारित भएर तयार पारिएको छ।

फिल्ममा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ ।

यस्तै, फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट