एमाले पर्वतमा तिमिल्सिना सुब्बाको हेभिवेट समूह अस्वीकृत, गिरी समूहले गर्‍यो क्लिन स्विप-Sutra News

एमाले पर्वतमा तिमिल्सिना सुब्बाको हेभिवेट समूह अस्वीकृत, गिरी समूहले गर्‍यो क्लिन स्विप

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । एमाले पर्वत जिल्ला १० औँ अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना तथा पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको हेभिवेट समूह कानून मन्त्री पदम गिरी नेतृत्वको युवा समूहबाट क्लिन स्विप भएको छ ।



गिरी समूहको गुटबन्दी छाडी सहमतिमा नेतृत्व छनौट गर्ने प्रस्ताव नमान्दा तिमिल्सिना सुब्बाको हेविवेट समूह क्लिनस्विप हुनपुगेको हो । शुक्रबार भएको निर्वाचनमा गोविन्द पहाडी तिमिल्सिना(सुब्बा समूहका पदमपाणी शर्मालाई पराजित गर्दै पर्वतको एमाले पार्टी जिल्ला नेतृत्वमा गोबिन्द पहाडी विजयी भएका छन्। पहाडीले १२७ मतको फराकिलो अन्तरले शर्मालाई पराजित गरेका हुन् । शर्माले १२७ मत ल्याउँदा पहाडीले २२८ मत प्राप्त गरे ।

त्यसैगरी विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित गरे । श्रेष्ठले १४८ मत प्राप्त गरे । यस्तै १८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिव प्रसाद पौडेलले १७२ मत पाए । उपसचिव खुल्लमा चण्डीप्रसाद भुर्तेलले जिवन विक्रम उचैलाई पराजित गरे । उनीहरुले क्रमशः १८८ र १७२ मत प्राप्त गरेका थिए । उता महिलातर्फ भने विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन ।

नयाँ नेतृत्वका लागि तिमिल्सिना(सुब्बा समूहसँग गिरी नेतृत्वको समूह सहमतिमै नेतृत्व चयन होस्, जिल्लामा गुट नहोस् भन्ने प्रस्ताव राखेको भएपनि उनीहरु सहमतिमा नआएपछि नयाँ निर्वाचनले पदम गिरीलाई जिल्ला राजनीतिको शक्तिमा स्थापित गराइदिएको छ ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिनाले यसअघि निर्वाचनमा आगामी नेतृत्वका लागि सहयोग गर्ने वचन दिएको भएपनि महाधिवेशन सुरु भएपछि गुट निर्माणमा सक्रिय भएका थिए । उनको चाहाना वर्तमान अधयक्ष राजु पौडेललाई दोहोर्याउने थियो । तर उनको इच्छामा वर्तमान उपाध्यक्ष पदमपाणी शर्माले आफू नयाँ नेतृत्वको स्वभाविक दाबेदारका रुपमा प्रस्तुत भएपछि तिमिल्सिनालाई सोको व्यवस्थापनको चुनौती थपिएको थियो । त्यहाँ पौडेलको भन्दा शर्माको माहोल देखिएपछि उनलाई अघि सार्‍यो ।

जिल्लाको रोयल कुश्मा होटललाई केन्द्र बनाएर उनले पुर्व मुख्यमन्त्री सुब्बा, पूर्व संविधानसभा सदस्य कल्पना चापागाईं, पूर्व संविधानसभा सदस्य एवम पूर्व प्रदेश पर्यटनमन्त्री विकास लम्साल, प्रदेशसबा सदस्य मित्रलाल बस्याल र भक्त कुँवरको साथमा रस्साकस्सी गरेका थिए। गिरी समूहलाई नेतृत्व नदिन पूर्व मुख्यमन्त्री सुब्बा पर्वतमा प्रत्यक्षरुपमा नै उपस्थित भए ।

‍गिरीसमूहले भने गुटबन्दीको सन्देश दिन नहुने भन्दै पार्टी कार्यलयमा नै बसेर निर्वाचनको तयारी गरे। अन्ततः युवामतलाई साथ लिएका गिरीले तिमिल्सिना(सुब्बा समूहलाई निर्वाचनबाटै जवाफ फर्काइदियो । उनीहरुको चाहाना तिमिल्सिना(सुब्बाले नेतृत्व चयनमा अभिभावक्त प्रदान गरुन भन्ने थियो ।

बहालवाला मन्त्री भएका कारण पदम गिरी पार्टी सहमतिमा अघि बढेको सन्देश दिन चाहन्थे जुन तिमिल्सिना सुब्बा समूहले स्वीकार गरेन र हार बेहोर्नु पर्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट