कांग्रेस नेता पौडेलको निधन-Sutra News

कांग्रेस नेता पौडेलको निधन

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा निधन भएको हो ।



कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका २२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थी कालदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी थिए । उनका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ । उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएका थिए ।

त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बनेका थिए ।

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईसँग पराजित भएका थिए ।

नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट