ओलीसँग सहकार्यको बाटो खोज्दै शेखर, सम्भावना कति ?-Sutra News

ओलीसँग सहकार्यको बाटो खोज्दै शेखर, सम्भावना कति ?

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । कांग्रेस–माओवादी गठबन्धन भत्काउनमा भित्रिरुपमा भूमिका खेलेको आरोप खेपेका कांग्रेस नेता शेखर कोइराला फेरि एमाले–माओवादी गठबन्धनलाई भत्काउने गरी सक्रिय बन्न थालेका छन् । एमाले–माओवादी गठबन्धनभित्र विवाद उब्जिरहेको बेला कोइराला कांग्रेस–एमाले गठबन्धन निर्माणमा खुलारुपमा अगाडि आएका हुन् । कोइरालाले कांग्रेस र एमाले मिलेर मात्रै मुलुकले निकास पाउने बताउन थालेका छन् ।



बिहीबार घोराहीमा आयोजित कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुको विकल्प नभएको बताए । उनले पछिल्लो परिवर्तन दुई सहकार्यले आएको भन्दै अबको निकास पनि दुई दल मिलेर नै दिनुपर्ने बताए ।

“मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिनुपर्छ, यसको विकल्प छैन”, कोइरालाले भनेका छन्, “समयमै एक ठाउँमा हुन सकिएन भने मुलुकले थप समस्या व्यहोर्नुपर्छ ।”

कोइरालालाई एमालेसँग छलफलमा रहिरहने नेताका रुपमा बुझिन्छ । तत्कालिन कांग्रेस–माओवादी गठबन्धन भत्काउन कोइरालाले कोशीबाट एमालेसँग सहकार्य गर्दै विद्रोह गराएका थिए । उनी निकटस्थले खुलारुपमै सबै प्रदेश र केन्द्रको सरकार ढाल्ने बताएका थिए ।

यस्तोमा कोइराला फेरि खुलारुपमै कांग्रेस–एमालेलाई एकठाउँमा जोड्ने उपायको खोजीमा देखिएका छन् ।

अहिले सत्ता गठबन्धनभित्र विभिन्न भागवण्डाको विषयलाई लिएर किचलो छ । एकीकृत समाजवादीले जुनसुकै बेला सरकार छाड्न सक्ने चेतावनी दिइरहेको छ ।

सहकारी प्रकरण उचालिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हैरानीमा छन् । कांग्रेसको निरन्तर अडानका बीच रास्वपा सरकारमा रहीरहने वा सरकारबाट बाहिरिने भन्ने दोधारमा छ । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि छानबिन गर्न संसदीय समिति बनाए सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन् ।

यस्तोमा कांग्रेस–एमाले सहकार्यको सम्भावना बढिरहेको छ । जुन सम्भावनालाई ध्यानमा राख्दै कोइराला सक्रिय बनेका हुन् ।

यसले एकातिर डा. कोइरालालाई कांग्रेसभित्र शक्ति आर्जन गर्ने मौका मिल्नेछ भने अर्कोतिर कांग्रेसलाई पुनः सत्तामा फर्काउने अवसर पनि मिल्नेछ । कांग्रेसको महाधिवेशन समयमै भए २०८३ सालमा हुन्छ । अहिलेका सभापति शेरबहादुर देउवाले आफ्नो विकल्प खोजिरहेका छन् । जसमा आफूलाई अगाडि सार्ने ध्याउन्नमा डा. कोइराला देखिन्छन् ।

अहिले एमालेका शीर्ष तहकै कतिपय नेताहरुले कांग्रेस–एमाले मिल्नुपर्ने बताइरहेका छन् । बिहीबार एक अनलाइन सञ्चारमाध्यमसँगको कुराकानीमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि कांग्रेस र एमाले मिलेर देशलाई निकास दिनुपर्ने बताएका छन् । “उपयुक्त समयमा मुख्य दलहरूबिच सहकार्य गरेर जानु मुलुकको हितमा हुन्छ”, उनले भनेका छन् ।

पोखरेल जस्तै अन्य नेताहरुको अभिव्यक्ति पनि कांग्रेस–एमाले मिल्नुपर्ने कोणबाट आएको देखिन्छ ।

सत्तारुढ गठबन्धनभित्र विवाद बढिरहेको बेला एमालेकै शीर्ष नेताहरुकै अभिव्यक्तिका बीच डा. कोइरालाको सक्रियता निकै अर्थपूर्ण छ । कतिपयले वैशाखभित्रै नयाँ सत्ता समीकरण बन्न सक्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट