मेलम्चीको पानी पर्खंदै बित्यो आधा वर्ष-Sutra News

मेलम्चीको पानी पर्खंदै बित्यो आधा वर्ष

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैले पत्याएनन् ।



उल्टो उनलाई पागलको संज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने भनेर भनिन्थ्यो । उनको दीर्घकालीन सोच असम्भव रहेन छ भन्ने कुरा पुष्टि गर्न तीन दशकभन्दा बढी समय लाग्यो ।

लामो समयमको प्रतिक्षापछि उपत्यकावासीको धाराधारामा मेलम्ची खानेपानी आयो । बढ्दो जनंख्यासँगै पानी आवश्यकता पनि बढ्न थाल्यो । काकाकुल काठमाडौंको तिर्खा मेटाउन आएको मेलम्चीले उपत्यकावासीमा खुसी ल्यायो ।

पानीको अभाव बढेपछि रातभरि निन्द्राको माया मारेर पानीका लागि लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भएकामा उपत्यकावासीमा खुसी छाएको थियो । मेलम्ची खानेपानी आयोजनाको पहिलो उद्घाटन तत्कालीन खानेपानी मन्त्री बिना मगरले विं.सं. २०७७ असार २१ गते गरेकी थिइन् ।

आयोजना सुरु भएको २२ वर्षपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ चैत २० गते काठमाडौंको भृकृटीमण्डपमा निर्माण गरिएको ढुङ्गेधारा खोलेर आयोजनाको औपचारिक रुपमा उद्घाटन गरिन् ।

दुई वर्षअघि मेलम्चीमा बाढी नआएको भए यहाँका उपभोक्ताको धारामा निरन्तर खानेपानी आउने थियो । दुई वर्षअघि मेलम्चीमा आएको बाढीसँगै उपत्यकावासीको खुसी पनि बगायो ।

गृह मन्त्रालयको तथ्यांकअनुसार मेलम्चीको बाढीका कारण आयोजनामा करिब दुई अर्बको क्षति भएको थियो । बाढीका कारण आयोजना नै अनिश्चित बन्यो ।

खानेपानी तथा सरसफाई मन्त्रालयले मनसुनजन्य विपदबाट आयोजनालाई जोगाउन मनसुन सुरु हुनुअगावै आयोजना बन्द गर्दै आएको छ । सरकारलाई हिउँदमा खोल्नु पर्ने र बर्खामा बन्द गर्नु पर्ने बाध्यता जस्तै भएको छ ।

यो अवस्थाले उपत्यकावासीमा फेरि निरासा पैदा भएको छ । गत साउन २८ र २९ गते आएको बाढीले आयोजनाको संरचनामा पुनः क्षति पुर्‍यायो । उक्त बाढीसँगै पानी वितरण रोकिएकामा खानेपानी मन्त्रालयले मनसुन सकिएपछि पुनःवितरण गरिने बताउँदै आएको थियो ।

मनसुन सकिए पनि उपत्यकावासीका धारामा भने मेलम्चीको पानी आएन । मौसम पूर्वानुमान माहाशाखाकाअनुसार जुन १० देखि नेपालमा मनसुन अवधि सुरु भई चार महिनासम्म रहन्छ ।

मन्त्रालयका तत्कालीन सचिव रामआधार साहले आयोजना सुधारका लागि ठेक्का सम्झौता गर्ने निर्माण कम्पनीसँग कहिले संरचनाको विषय, कहिले भुक्तानी तथा मुआब्जाको विरोधलगायत कारण सुधारको काममा ढिलाइ हुँदा मनसुन सकिएलगत्तै खानेपानी उपत्याकामा ल्याउन नसकिएको बताए ।

मन्त्रालयका अनुसार पहिरोले आयोजनाको हेडवक्र्समा क्षति पुगेको थियो । उक्त पहिरो पन्छाएर हेडवक्र्स सुधारको काम अगाडि बढाउनका लागि मन्त्रालयले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आग्रह गरेको थियो ।

‘फास्ट ट्र्याक’मा आयोजना पुनःनिर्माण अगाडि बढाउन सरकारले यस सिनो हाइड्रोसँग गरेको सम्झौताको समयावधि नसकिएकाले मन्त्रालयले उक्त कम्पनीलाई पुनः निर्माण अगाडि बढाउन आग्रह गरेको साहले बताए ।

सम्झौता अवधि नसकिएकाले प्रक्रियागत सहजतासँगै निर्माण कम्पनीले आयोजना सुधारको कामका लागि बाटो खोलिदियो । आयोजनाको अस्थायी सुधारपछि गत माघ १ गते उपत्यकामा पुनः मेलम्ची खानेपानी वितरण भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि रहेको ‘ढुंगेधारा’ खोलेर खानेपानीको पुनःवितरण शुभारम्भ गरे ।

०८० को करिब सात महिना मेलम्चीको पानी पर्खेर बित्यो उपत्यकावासीको । त्यसबीचमा उपभोक्ताले खानेपानीको उही पुरानै समस्याको सामना गर्नु पर्‍यो । फेरि रातभरि जाग्राम बसेर पानीको लाइनमा बस्नुप र्ने बाध्यताको सुरु भएको थियो ।

मनसुन सुरु नहुँदै बन्द हुने मेलम्ची आयोजनाका कारण उपभोक्ताले अभाव र सास्ती व्यहोर्नु परिरहेको छ । बाढी पहिरो तथा मनसुनजन्य विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि मनसुन सुरु हुनुपूर्व नै आयोजना बन्द गरिँदै आइएको खानेपानी विकास समितिको भनाइ छ ।

मन्त्रालयका अनुसार बाह्रै महिना मेलम्चीको पानी उपत्यकामा ल्याउन सरकारले दीर्घकालीन सुधारका लागि सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट