मध्यपूर्वमा अशान्त मच्चाउने काम नगर्न अमेरिकालाई चीनकाे चेतावनी-Sutra News

मध्यपूर्वमा अशान्त मच्चाउने काम नगर्न अमेरिकालाई चीनकाे चेतावनी

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडाैं । चीनले शुक्रबार संयुक्त राज्य अमेरिकालाई मध्यपूर्वमा शान्तीकाे वातावरण बनाउन आग्रह गरेकाे छ । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिेङ्केनसँग टेलिफोन वार्तामा उक्त आग्रह गरेका हुन् ।



ब्लिङ्केनले बेइजिङसँग इरानलाई इजराइलमा हमला रोक्नका लागि आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गर्नका लागि फोन गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अप्रिल १ मा भएको इजराइली हमलामा दमास्कसमा इरानी कूटनीतिक भवन ध्वस्त भएपछि तेहरानको प्रतिशोधले चिन्ता बढाएको छ ।

शुक्रबार टेलिफोन वार्ता भएको चीनले पुष्टि गरेको छ । चिनियाँ विदेशमन्त्री वाङले कूटनीतिक संस्थाहरूको सुरक्षाको ‘अल्लङ्घनीय’ अधिकार र इरान तथा सिरियाको सार्वभौमिकताको सम्मान गर्ने आवश्यकतामाथि जोड दिँदै ‘हमलाप्रति चीनको कडा निन्दा व्यक्त’ गरे ।

“चीनले मध्यपूर्व मुद्दाको समाधानमा रचनात्मक भूमिका निर्वाहलाई जारी राख्नेछ र स्थितिलाई शान्त बनाउन योगदान गर्नेछ”, चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “विशेषगरी संयुक्त राज्य अमेरिकाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।”

इरानको मौलवी नेतृत्वले हमलाको जवाफी हमला गर्ने वाचा गरेको छ । दूतावासमा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

अमेरिकाले चीनसँग हमासको समर्थन गर्ने इरानमाथि दबाबसहित सङ्कट समाधानका लागि थप प्रयास गर्न बारम्बार सार्वजनिक अपिल गरेको छ । बदलामा बेइजिङले इजराइलप्रति पक्षपाती भएको भन्दै अमेरिकाको आलोचना गरेको छ ।

प्रवक्ता माओले शुक्रबार भने, “बढाइको यो क्रम गाजा सङ्घर्षबाट फैलिएको पछिल्लो अभिव्यक्ति हो र गाजा सङ्घर्ष चाँडोभन्दा चाँडो समाप्त गर्न जरुरी छ ।” उनले बेइजिङले तत्काल युद्धविरामको आह्वान गरिरहेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार गाजा युद्ध सञ्चालनका लागि इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको आलोचना गरे पनि इजराइलको सुरक्षाका लागि अमेरिकी समर्थन ‘दृढ’ रहेको बताएका थिए । रासस/एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट