यस्तो छ आर्यन, प्रदीप र पल स्टारर फिल्म ‘पूजार सार्की’को टिजर-Sutra News

यस्तो छ आर्यन, प्रदीप र पल स्टारर फिल्म ‘पूजार सार्की’को टिजर

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं ।  फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ।



आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको १ मिनेट १४ सेकेन्डको टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिएका छन्। डोली चढेर आउँदै गरेका उनी केही सामन्त लाग्छन् तर, अर्को दृश्यमा भने मैत बहादुर बनेका प्रदीप खड्कासँगै भागिरहेका देखिन्छन्। एक दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिन्छन्। आर्यनको भूमिकाले उनको पात्रको चारित्रिक दृष्टिकोणलाई बहु आयामिक देखाउँछ।

दमाहा बजाउँदै गरेका प्रदीप बाजा बजाउने काम गरेको टिजरमा देखिन्छन्। उनले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यन सहित लखेटिरहेको देखिन्छ। उनको भूमिकाले जातीय विभेदलाई दर्साएको छ। केही क्षणमा पल शाह देखिन्छन्। उनले भरुवा बन्दुक चलाएका छन्। उनले को माथि बन्दुक प्रहार गरेको त्यो भने खुलेको छैन। टिजरका दृश्य सम्पादन गर्दा आर्यन र प्रदीप माथि बन्दुक हानी रहेको देखिएता पनि पलको भूमिका क्रान्तिकारी रहेको अनुमान गर्न सकिन्छ। टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

यस फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

सङ्गीतकार सुवास भुसालले निर्माण गरेको यो फिल्मलाई विकास सुवेदीले लेखेका छन्। भुसालले पहिलो पटक फिल्म निर्माण गरेका हुन्। फिल्ममा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् । यस्तै फिल्ममा साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन्। राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। यो फिल्म आरआर फिल्मसले वितरण गर्दै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट