चकलेटी नायकहरू चर्चामा रहेर हराएको वर्ष !-Sutra News

चकलेटी नायकहरू चर्चामा रहेर हराएको वर्ष !

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । कुनै समय एकपछि अर्को फिल्ममा व्यस्त नेपाली फिल्म क्षेत्रका चकलेटी हिरोहरुको यो वर्ष कुनै पनि फिल्म प्रदर्शनमा आउन सकेनन् ।



कमर्सियल चकलेटी नायकहरूको रुपमा चिनिएका अधिकांश हिरोहरू भलै केहीले फिल्मका लागि सम्झौता गरे पनि ती फिल्म सुटिङमा जान सकेनन् । फिल्म प्रदर्शन नभए पनि उनीहरूको चर्चा वर्षभरि रहन गयो ।

अघिल्लो वर्ष फिल्म ‘छड्के २’ रिलिज भएपछि नायक अनमोल केसीको यस वर्ष फिल्म नै प्रदर्शन हुन सकेन । उनले अभिनय गर्ने केही फिल्मको नाम आए पनि यो वर्ष फिल्म ‘फर्की फर्की’ छायांकन भयो । र प्रदर्शनको पर्खाइ बस्नबाहेक यो वर्षमा उनका लागि केही हुन सकेन । यो फिल्म आउँदो वर्षको जेठ १० गते रिलिज हुँदै छ ।

योसँगै अनमोलले ‘जेरी अन टप’मा अभिनय गर्ने समाचार आए पनि यो फिल्म अझैसम्म सुटिङमा जान सकेको छैन । यो फिल्म फ्लोरमा कहिले जान्छ अझै अन्योलमा छ ।

अनमोल यो वर्ष फिल्म ‘रावायण’का कारण पनि चर्चामा रहे । यो फिल्म साइन गरेका उनले अन्तिममा छाडे । फिल्म छाडेपछि उनीविरुद्ध निर्देशक सुदर्शन थापाले उजुरी दर्ता गरे । सुदर्शनको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गर्‍यो । अनमोल दुई दिन प्रहरीको हिरासतमा बसे । यही प्रकरणले उनलाई वर्षभरि चर्चामा ल्यायो ।

चकलेटी लुक्सका हिरोभन्दा अनमोलपछि आउने अर्को नाम प्रदीप खड्का हो । प्रेम कथाभन्दा केही फरक जनराका फिल्ममा अभिनय गरे पनि उनलाई दर्शकले प्रेम कथाका फिल्ममा नै बढी रुचाउँछन् । फिल्म ‘प्रेम गीत ३’पछि प्रदीप खाली भएका उनले ‘पुजा सार्की’ फिल्मको छायांकन गराउन सफल भए । उनी पनि ‘पुजार सार्की’को प्रदर्शन कुरेर बस्नुबाहेक अर्को विकल्प हुन सकेन ।

प्रदीपको यो वर्ष कुनै फिल्म प्रदर्शन नभए पनि यस वर्ष एकपछि अर्को फिल्म साइन गरे । केही समययता फिल्मी बजारमा ‘कामिनो’लाई लिएर पयार्य बनिरहेका उनले यही वर्ष ‘पिताम्बर, एक्टर, ऐरी, एक्लो १’ लगायतका फिल्म साइन गरे । यी फिल्मको सुटिङ कहिलेबाट हुन्छ ? अझै पुष्टि हुन सकेको छैन ।

चकलेटी नायक आकाश श्रेष्ठको अवस्था पनि उस्तै भन्दा धेरै फरक छ । किनकी उनको हातमा फिल्म नै छैन भन्दा फरक नपर्ला । पछिल्लोपटक फिल्म हिँड्दा हिँड्दैमा देखिएपछि अन्य फिल्म न साइन गर्न सके न तयारी गर्न । यो फिल्म प्रदर्शन भएयता आकाशले कुनै पनि फिल्म साइन गरेका छैनन् । आकाशसँग यो विषयमा सोध्ने हो भने, आफूले चाडै नै धमाकेदार प्रोजेक्टको साथमा दर्शकमाझ आउने जवाफ दिन्छन् । तर, आकाशले आफ्ना फ्यानलाई यसरी पर्खाएको लामै समय भइसकेको छ ।

फिल्ममा नदेखिए पनि आकाश म्युजिक भिडियोमा भने फाट्टफुट्ट काम गरिरहेका छन् । कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चामा रहिरहेका यी हिरो अहिले भने हराए जस्तै छन् । अब उनले नयाँ फिल्म कहिले साइन गर्ने हुन्, त्यो उनी स्वयमलाई प्रतीक्षा रहेको छ होला ! यसरी पछिल्लो समय केही म्युजिक भिडियोमा देखिएका आकाश भिडियोमा पनि देखिन छोड्ने हो भने दर्शकले ‘कुनै बेला आकाश श्रेष्ठ पनि हिरो थिए’ नभन्लान् भन्न सकिँदैन ।

अब कुरा गरौँ पुष्प खड्काको । उनलाई अहिले म्युजिक भिडियोले नै धानेको छ । हरेक दिन उनले अभिनय गरेको कुनै न कुनै भिडियो सार्वजनिक भइरहन्छन् जस्तै लाग्छ । वि‌ं.सं. २०७९ मा उनका तीन फिल्म ‘कृष्ण लिला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ रिलिज भए । तर यी फिल्म फ्लप भए । यी फिल्म असफल भएसँगै यो वर्ष खड्काका कुनै पनि फिल्म रिलिज भएन । यो वर्षको अन्तिममा भने उनले ‘सिड्नी ब्लुज’ साइन गरे ।

यसपछि कुरा गरौँ पल शाहको । पछिल्लोपटक प्रदर्शन भएको उनको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भइरहँदा उनी तनहुँको दमौलीस्थित प्रहरीको हिरासतमा थिए । झण्डै एक वर्षसम्म कारागार बसेर निस्किएपछि उनको पनि यो वर्ष कुनै फिल्म प्रदर्शन हुन सकेन ।

तर, यो वर्ष पलले फिल्म ‘मायाबी र पुजार सार्की’को छायांकन सकाए । यस्तै, उनले ‘रावायण, मायाका रंगहरु, अवतार’लगायतका फिल्म साइन गरे । उनले म्युजिक भिडियो, महोत्सवमा उपस्थिति आदिमा बलियो उपस्थिति जनाउँदा चर्चा पाए । वर्षभरि नै चर्चामा रहे पनि दर्शकले भने उनको फिल्म प्रतीक्षा गरिरहेका छन् ।

यस्तै, चकलेटी नायक धिरज मगरका यो वर्ष दुई फिल्म ‘ज्याकी-आइ एम २१’ र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ प्रदर्शनमा आए । यी फिल्मले अघिल्लो वर्ष प्रदर्शन भएको उनकै फिल्म ‘बाबरी’लाई मात खुवाउँछ कि भन्ने आँकलन फिल्म वृत्तमा थियो । तर, फिल्मले आफैं मात खाएपछि धिरजको अवस्था पनि फिल्मकै जस्तो रह्यो ।

उनले यस वर्ष थप दुई फिल्म साइन गरे । जसमा फिल्म ‘खुस्मा’को छायांकन हालै सकेका छन् भने अर्को फिल्म ‘रुमानी रङ्ग’को छायांकन चैतबाट सुरु हुने बताइयो । तर, नयाँ वर्ष सुरु भइसक्दा पनि यो फिल्मको छायांकन कहिलेबाट सुरु हुने हो टु‌ंगो छैन ।

यो वर्ष नायक सलिनमान बनियाँको फिल्म ‘यात्रा’पछि कुनै पनि प्रदर्शन हुन सकेन । उनले यो वर्ष फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज’ साइन गरे । यो फिल्मको छायांकन आगामी वर्ष सुरु हुने बताइएको छ । तर, कहिलेबाट सुरु हुन्छ त्यो अझै पुष्टि हुन सकेको छैन । यस हिसाबले उनलाई पर्दामा देखिन सगरमाथा चढ्नु जत्तिकै कठिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट