प्रिमियरमा ‘डिग्री माइला’ले कस्तो पायो प्रतिक्रिया ?-Sutra News

प्रिमियरमा ‘डिग्री माइला’ले कस्तो पायो प्रतिक्रिया ?

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडाैं ।  शुक्रबारबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को बिहिबार बेलुकी बिग मुभिजमा गरिएको भव्य प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्वसन्ध्यामा निर्माण टिमले आयोजना गरेको प्रिमियरमा फिल्मीकर्मी, कलाकार, पत्रकार तथा नेता गरि नौ सय मानिसरु उपस्थिति रहेको थियो।



तीनवटै हलमा गरिएको प्रिमियरमा फिल्म हेर्नका लागि पुगेका अधिकांशले यसको विषयवस्तुले मन छोएको बताएका छन् । दयाहाङ राई र नायिका आँचल शर्माले पहिलो पटक एकसाथ काम गरेको यो फिल्मले अहमताले भरिएको एउटा पात्रको कथा उठान गरेको विषयमा प्रतिक्रिया दिँदै प्रशंसा गरेका छन् ।

आफूभित्र रहेको अहमलाई नियन्त्रण गर्न नसके त्यसले आफैँलाई पुर्याउने क्षतिलाई फिल्मले देखाएको छ । प्रिमियरमा उपस्थित कलाकारले यसलाई आम नेपाली युवाको समस्य भएको प्रतिक्रिया दिएका छन् ।

फिल्म ‘जारी’मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले फिल्म हेरेर राम्रो बनेको प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो।’ यस्तै, उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन्। ‘आँचलजीको काम एकदमै रिफाइन लाग्यो । पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाँहि गरिन’, उनले थपिन्।

यता, अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ टोलीका लागि सम्मान व्यक्त गरिन्। उनले हसाउँन माहिर भन्दै निर्देशक रामबाबु गुरुङको प्रशंसा गरिन्। ‘उहाँले राम्रोराम्रो कलाकारहरुलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ। उहाँसँग त्यो कला छ। एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ। यसका लागि मैले सम्मान गर्नैपर्छ’, उनले भनिन्।

उनले नयाँ वर्षमा हेर्नलायक भएको जनाउँदै फिल्ममा दर्शकहरुले आफूलाई जोड्नसक्ने बताइन्।

यसैगरी ‘लुट’ अभिनेत्री श्रृजना सुब्बाले फिल्मको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन्। ‘एकदमै मन कस्तो भारी भइराख्यो। रामबाबुको राम्रो पक्षचाँहि एकदमै गहन कुराहरुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने तरिका एकदमै राम्रो छ। कबड्डीमा जुनप्रकारको थियो, त्यो हिट पनि भयो। योचाँहि मलाई झन् एकदमै मनपर्‍यो। उहाँ काममा बढोत्तरी भइरहेको पाएं’, उनले भनिन्।

यस्तै, उनले दयाको काम र भूमिकाको तारिफ गरिन्। ‘म दयालाई यस्तै क्यारेक्टरमा हेर्न चाहन्थे। उसको यस्तो पात्रहरु भइदियोस जस्तो लाग्थ्यो। अरु सबैको काम मनपर्‍यो। मलाई एकछिन नबोलुँम नबोलूँम जस्तो बनायो।’

यसैगरी, फिल्मका शीर्ष पात्र दयाहाङ पनि फिल्मसँग खुशी देखिए। उनले पूरै फिल्म आफूले पनि पहिलोपटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मनपरेको भने। ‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोशिस गरें । हामीले जो मेहेनत गर्‍या छटं, त्योचाँहि छर्लगै देखिन्छ’, उनले भने।

दयाले ‘डिग्री माइला’को कथा ‘कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै ‘कबड्डी’को प्रभावबाट निर्देशक रामबाबु पर रहेको र कथा वाचन फरक भएको बताए। दयाले अभिनेत्रीका हिसाबले आँचलको तारिफ गरें। ‘मचाँहि खुशी छु, पहिलोपटक स्क्रिन साझा गरिरहँदाचाँहि मैले उसको अभिनयमा परिपक्वता छर्लगैं देखिन्छ’, दयाले भने। यता, अभिनेत्री आँचलले आफूलाई फिल्म मनपरेको बताइन्।

अभिनेता मुकुन भुसालले पनि राम्रो फिल्म बनेको प्रतिक्रिया दिए भने उनको छवैमा रहेका संचारकर्मी दिनेश डिसीले फिल्ममा राबबाबु गुरुङ तथा दयाहाङको ब्राण्ड देखिएको बताउँदै फिल्मको कन्टेन्ट शिक्षाप्रद रहेको धारणा राखे।

यस्तै, एमाले नेता एवम् संघीय सासंद रघुजी पन्तले समंग्रमा फिल्ममा मनोरञ्जक रहेको र फिल्मले सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए। ‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रीरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ। टिपिकल रामबाबुको फिल्म हो। उनको स्टाइल हो।’, उनले भने। यसैगरी उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै उनीहरुलाई देश छोडेर नजानसमेत आग्रह गरे।

यसैगरी, संगीतकार चेतन सापकोटाले फिल्म हेरिरहँदा मनोरञ्जन लिएको भन्दै प्रशंसा गरे भने, वरिष्ठ अभिनेता शिव श्रेष्ठले फिल्म राम्रो बनेको भन्दै तारिफ गरे। उनीहरुका अलावा प्रिमियरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज, निर्मात्री निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभिनेता निर्मल शर्मा, कर्मा शाक्य, नरेन खड्का लगायत उपस्थिति थिए। उनीहरु सबैले फिल्मको विषयवस्तु र कलाकार मनपरेको प्रतिक्रिया दिएका थिए।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ र आँचल का अलावा विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट