

काठमाडाैं । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्न लागेको फिल्म ‘रावायण’ छायांकनमा जाने तयारीमा रहेको छ ।
फिल्मको मुख्य भूमिका पल शाह रहेका छन्। एक्सन-लभस्टोरी कथामा बन्न लागेको फिल्ममा उनको दोहोरो भूमिका हुनेछ । एउटा सकारात्मक र अर्को नकारात्मक चरित्र हुने बताइएको छ । उनी पहिलोपटक डबल रोलमा देखिन लागेका हुन् ।
प्राय: चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकमाझ लोकप्रिय बनेका पल अब भने एक्सन अवतारमा देखिँदै छन् । उनलाई ‘नाइँ नभन्नु ल ४’ देखि ‘म यस्तो गीत गाउँछु २’ हुँदै ‘मायाबी’ सम्म हेर्दा उनले अभिनय गरेका अधिकांश फिल्ममा लभरब्वाइको भूमिकामा देख्न पाइन्छ ।
दुई वर्ष यता कुनै फिल्ममा नदेखिएका पल लामो समयको अन्तरालमा एक पछि अर्को गर्दै पर्दामा देखिन लागेका छन् । उनले यस फिल्ममा लभरब्वाइ भन्दा भिन्न छविमा देख्न पाउने बुझिएको छ। यसका लागि विगत केही दिनदेखि उनले एक्सन सिकिरहेका छन् ।
निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रूपमा चर्चा भइरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देख्न पाउने भएका हुन् । यही फिल्ममा द्वन्द्व निर्देशन गर्न लागेका श्री श्रेष्ठसँग उनले एक्सन सिकिरहेका छन् ।
हुन त, पलको ‘रावायण’ भन्दा पहिला ‘पुजार सार्की’ फिल्म रिलिज हुने छ । त्यहाँ पनि पल लभरब्वाइ नबनेर भिन्नै चरित्रमा देखिँदै छन् ।
२०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्मलाई निर्देशक थापा र अभिनेत्री पूजा शर्माले मिलेर निर्माण गर्न लागेका हुन् । फिल्ममा पल र पूजासहित , प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, विक्रम स्वारको कोरियोग्राफी रहने छ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।