फ्राईडे रिलिज : ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि हलमा, चौथो सातामा ‘महाजात्रा’-Sutra News

फ्राईडे रिलिज : ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि हलमा, चौथो सातामा ‘महाजात्रा’

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत नयाँ वर्षको अवसर पारेर दुई नयाँ नेपाली फिल्महरू आजबाट प्रदर्शनमा आएका छन् ।



आज शुक्रबारबाट रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘डिग्री माइला’ र फिडेल देबकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ प्रदर्शनमा आएका हुन् । यी दुई फिल्मका कथावस्तु भने फरक छ ।

देशभरका हलमा उच्च शोसहित रिलिजमा आएको फिल्म ‘डिग्री माइला’मा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।

अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि ‘डिग्री माइला’ नाटकसमेत मञ्चन भएको थियो । फिल्म सोही नाटकमा आधारित रहेको छ । यो फिल्मले डिग्री पढेर पनि बेरोजगार रहेको एक गफाडी युवाको कथा भन्छ । जसमा, आफूभित्र रहेको अहमलाई नियन्त्रण गर्न नसके त्यसले आफैँलाई पुर्याउने क्षतिलाई फिल्मले देखाएको छ ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइन बनाएको फिल्म बाँसुरी फिल्मसले कबड्डी फिल्मस तथा सुष्मा फिल्मससँग मिलेर निर्माण गरेको हो ।

यस्तै, विश्वका चर्चित महोत्सवहरुमा छनोट भएको फिल्म ‘द रेड सुटेकस’मा सौगात मल्ल, विपीन कार्की, प्रवीण खतिवडा, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । यो फिल्म क्यूएफएक्स चेन बाहेकका हलमा मात्र रिलिजमा आएको छ । यो फिल्मले देशको बेरोजगारी अवस्था र रातो सुटकेसमा फर्किनुपर्ने व्यथाको कथा भन्छ ।

फिल्मको सम्पादन श्रीलङ्कामा समन अलभितिगाले गरेका हुन् भने छायाकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मका अन्य निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह–निर्मातामा श्रीलङ्काका विमुक्ति जयसुन्दरा रहेका छन् ।

यस्तै, प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ आजैबाट चौथो हप्तामा प्रवेश गरेको छ । तीन सातामा १४ करोडको ग्रस कलेक्शन गर्दै यो फिल्मले चौथो हप्तामा पाइला राखेको हो । फिल्मले चौथो हप्तामा पनि सुखद कारोबार गर्ने अपेक्षा गरिएको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट