भारतमा दुर्घटना- ज्यान गुमाएका सात जनाको शव स्वदेश ल्याइँदै-Sutra News

भारतमा दुर्घटना- ज्यान गुमाएका सात जनाको शव स्वदेश ल्याइँदै

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

कञ्चनपुर । सोमबार राति भारतको उत्तरा खण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव नेपाल ल्याइँदै छ ।



दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका ८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्त पनि शव लिन नैनीताल पुगेका बताउँछन् ।

“अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ,” नैनीतालबाट प्रमोदले भने, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ ।”

उनले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु बुधबार साझँसम्म नेपाल पुगिसक्ने बताए । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ ८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका १ चेपाङका टोपबहादुर बस्नेत रहेका छन् ।

त्यसैगरी बैजनाथ गाउँपालिका ८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए ।

“मृतकका आफन्तहरु नैनीताल पुगेर हामीसँत नियमित सम्र्पक गरिरहनु भएको छ,” उनले भने, “नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिंगो वडा नै शोकमा छ ।”

वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरुको भारतमै उपचार भइरहेको छ । दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो ।

घटनास्थल वरपर उनीहरु सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथे । सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरु जीप चढेको केही बेरमै दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट