अर्जुन कुमालको शतक बेकाम, आयरल्याण्ड ‘ए’ले गर्‍यो ‘क्लिन स्विप’-Sutra News

अर्जुन कुमालको शतक बेकाम, आयरल्याण्ड ‘ए’ले गर्‍यो ‘क्लिन स्विप’

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न एक दिवसीयको अन्तिम खेलमा आयरल्याण्ड ‘ए’ ६९ रनले विजयी भएको छ ।



आयरल्याण्डले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ११५ रनमा अलआउट भएको हो । नेपालका लागि ओपनर अर्जुन कुमालले शतक प्रहार गरे । उनले १४ चौकाको मद्दतले १०२ रन बनाए ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे । साउद ३६ रनमा आउट भएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्याण्डका बेन ह्वाइटले १० ओभरमा एक मेडनसहित ६२ रन खर्चेर पाँच विकेट लिए । गेभिन होइले ४ र म्याथ्यु फस्टरले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । आयरल्याण्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय पारी खेले ।

पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३.३ ओभरमा ९०–२ को अवस्थामा थियो ।

उनी आउट भएपछि मध्यक्रमका ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए । तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट