प्रतिष्ठाको लडाइँ बनेको इलाम–२ मा चारपक्षीय भिडन्त, कसको अवस्था कस्तो ?-Sutra News

प्रतिष्ठाको लडाइँ बनेको इलाम–२ मा चारपक्षीय भिडन्त, कसको अवस्था कस्तो ?

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको रिक्त इलाम–२ को उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपनिर्वाचनमा २० जनाको उम्मेदवारी परेको छ । संघीय संसदमा एक निर्वाचन क्षेत्रको संसदीय गणितले खासै प्रभाव नपार्ने भएपनि राजनीतिकरुपमा इलाम–२ निकै प्रतिष्ठाको विषय बनेको देखिन्छ ।



अहिले विशेषगरी सत्तारूढ नेकपा (एमाले) इलाम–२ लाई पुरानै विरासत जोगाउँदै बामपन्थी जनमतको प्रभाव देखाउन चाहन्छ । २०४८ पछि निरन्तर आफ्नो पडकमा राख्दै आएको यो क्षेत्रलाई बामपन्थीकै किल्लाको रुपमा चिनाउने प्रयासमा एमाले छ । दिवंगत सुवासचन्द्र नेम्वाङ्गले जोगाएको यो विरासतलाई कायमै राख्नुपर्ने चुनौतिमा पुत्र सुहाङ नेम्वाङ्ग देखिएका छन् ।

अर्कोतर्फ, उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाएसँगै एमालेमाथि थुप्रै प्रश्नहरु उब्जिएका छन् । वंशवादलाई कायम गराउन खोजेको, सहानुभूतिको राजनीति गर्न खोजेको जस्ता प्रश्नले एमाले घेरिएको छ ।

साथै, पहिचान पक्षधरको तारोको रुपमा परेको एमालेलाई पहिचान पक्षधरलाई जवाफ दिने अवसर पनि इलाम–२ को उपनिर्वाचन बन्दैछ । एमालेले यो निर्वाचनलाई निकै प्रतिष्ठाको रुपमा हेरेको छ । जहाँ एमालेका निम्ति माओवादी केन्द्र सहयोगी बनेर आएको छ ।

यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वामपन्थी किल्ला तोड्दै यसअघिको पराजयको बदला लिने सुरमा छ । कांग्रेसले यसअघिकै पराजित उम्मेदवार डम्बर खड्कालाई अघि सारेको छ । अघिल्लो निर्वाचनमा निकै झिनो मतले पराजित खड्कालाई जिताएर कांग्रेस आफ्नो पक्षमा जनमत बढेको सन्देश पनि दिन चाहन्छ । सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसले यसलाई आफ्नो जनमत परीक्षणको रुपमा पनि लिएको छ ।

यता, मुख्य मानिएका एमाले र कांग्रेससँगै इलाम–२ मा रास्वपाबाट मिलन लिम्बु र पहिचानवादी डकेन्द्रसिंह लिम्बुको पनि चर्चा चुलिएको छ ।

यसअघिको उपनिर्वाचनमा आफ्नो पक्षमा उत्साह देखेको रास्वपा इलाम–२ को निर्वाचनलाई जनमत परीक्षणको रुपमा हेरेको छ । विवादै विवादले घेरिएको रास्वपाले यो निर्वाचनलाई विवाद पखाल्ने उपायको रुपमा पनि लिएको देखिन्छ ।

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बु पूर्वमाओवादी कार्यकर्ता हुन् । ‘मिसन २०८४’ को अभियानमा लागेको रास्वपा यो निर्वाचनलाई प्रयोग गरेर आफ्नो अभियानलाई सफल बनाउने ध्याउन्नमा छ ।

यता, मूलधारका शक्तिहरुसँगै पहिचानवादी डकेन्द्रसिंह लिम्बु पनि चुनावी लडाइँमा छन् । लिम्बुलाई पहिचान पक्षधर अभियन्ता र पार्टीहरुले साझा उम्मेदवारको रुपमा अथ्र्याएका छन् । लिम्बुको पक्षमा धरानका मेयर हर्क साम्पाङ्गदेखि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, बहुजन अध्यक्ष विश्वेन्द्र पासवानलगायतले साथ दिने घोषणा गरेका छन् ।

कोशी नामाकरणको विरुद्धमा चलिरहेको निरन्तरको आन्दोलनका बीच हुँदै गरेको निर्वाचनलाई पहिचान पक्षधरले मुद्दा स्थापित गर्ने मेलोको रुपमा लिएको देखिन्छ । यदि पहिचानवादी लिम्बुले जित्ने अवस्था बनेमा आफ्नो एजेन्डा स्थापित हुने उनीहरुको बुझाई छ । जसले देशव्यापी पहिचान पक्षधरको अभियानमा सहयोग पुग्नेसमेत उनीहरुको विश्लेषण देखिन्छ ।

सँगै, इलाम–२ मा राप्रपाबाट लक्ष्मी गुरुङ पनि चुनावी मैदानमा छन् । राप्रपाले पनि यसलाई निकै प्रतिष्ठाको रुपमा लिएको छ । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनमत बढ्दै गएको आकंलन गरेको राप्रपाले इलाम–२ को निर्वाचनलाई मत परीक्षणको रुपमा बुझेको देखिन्छ ।

२०७९को नतिजा केलाउँदा एमाले बलियो, उपनिर्वाचनलाई हेर्दा रास्वपा

इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८६४ मतदाता छन् । गत चुनावमा ६९ हजार ४८१ जनाले मात्रै मतदान गरेका थिए । त्यसमा पनि ६६ हजार ८८५ मत मात्र सदर भएको थियो ।

सदर मतमध्ये एमालेका तत्कालीन नेता नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका थिए । निकटतम् प्रतिस्पर्धी कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए । एमालेले एक्लै प्रतिस्पर्धा गर्दा कांग्रेस र माओवादीले सहकार्य गरेका थिए ।

तत्कालिन निर्वाचनमा समानुपातिकतर्फको मतलाई हेर्दा, एमालेले २६ हजार ५ सय ६२ मत ल्याउँदा कांग्रेसले २२ हजार ३ सय ३३ मत पाएको थियो भने माओवादी केन्द्रले ५ हजार १ सय ५३ मत पाएको थियो । यस्तै, रास्वपाले ४ हजार ६ सय ८६ मत पाएको थियो ।

तत्कालिन समय समानुपातिकतर्फ पाएको मतलाई हेर्दा इलाम–२ मा मुख्यगरी एमाले र कांग्रेस उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । यद्यपि, गत वैशाखमा भएको तनहुँ, चितवन र बाराको उपनिर्वाचनलाई हेर्दा रास्वपाको मत जबरजस्तरुपमा बढेको देखिन्छ ।

सँगै योबीचमा पहिचान पक्षधर र राजवादी राप्रपाको पक्षमा केही उत्साह छाएको देखिन्छ । जसलाई आधार मान्दा इलाम–२ चार पक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट