सडक दुर्घटनामा घाइते बनेकी कोपिलाको उपचार खर्च जुटाउन रेखाले थालिन् पहल-Sutra News

सडक दुर्घटनामा घाइते बनेकी कोपिलाको उपचार खर्च जुटाउन रेखाले थालिन् पहल

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडाैं । भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा घाइते नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन् ।



एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा थापा चढेको  कार ब्रेकफेल भएर २५ फिट तल खसेर ढलानमा बज्रिएको जनाइएको छ । दुर्घटना लगत्तै स्थानीय गाउँलेले आफ्नै गाढीमा चढाएर उनीहरुलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्‍याएका थिए ।

कोपिलाले टेलिचलचित्र र दर्जनौं नेपाली फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा अभिनय गरेकी छन् । उनले पछिल्लो पटक हिट फिल्म ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । मोरङ सलकपुरकी कोपिला रेखा थापाकी ठूलो बुवाकी छोरी हुन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले केही दिन अगाडि भएको सडक दुर्घटनामा थापा घाइते भएको जानकारी दिए । अध्यक्ष निरौलाले भने, ‘कोपिलाले केही दिन अगाडि मलाई खबर गर्नुभएको थियो । उहाँको अस्पतालमा उपचार भइरहेको छ । कोपिलाले आफ्नो कम्बरदेखि तल नचलेको र ठिक हुन ६, ७ महिना लाग्ने बताउनु भएको छ ।’

कलाकार  थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छन् । अमेरिकामा रहेकी रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी हुन् ।

यस्तै, अध्यक्ष निरौलाका अनुसार ‘रेखाजीले कोपिलाजीको सहयोगका लागि व्यक्तिगत रूपमा आफूले पनि सहयोग गर्नुभएको छ । उहाँले थप उपचार खर्च जुटाउन पहल पनि सुरु गरेको बताउनु भएको छ ।’

चलचित्र विकास बोर्ड मातहतको चलचित्र कल्याणकारी कोषमार्फत् कोपिलाको उपचारमा आर्थिक सहयोग गर्ने पहल भइरहेको बताए । ‘कोषमार्फत आर्थिक सहयोगका लागि पहल सुरु भएको छ । यसका लागि बोर्डको स्वीकृति चाहिन्छ,’ अध्यक्ष निरौलाले भने, ‘कोषबाट अधिकतम एक लाख रुपैयाँभन्दा धेरै सहयोग गर्न मिल्दैन ।’

उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ । संघका अध्यक्ष निरौलाका अनुसार उनको कम्मरभन्दा मुनिको शरीर चल्दैन ।

‘अहिले उहाँको अवस्था गम्भीर छ । कम्मरमुनीको भाग नचल्ने भएकाले चण्डीगढमा उपचार भइरहेको छ,’ उनले भने, ‘तत्काल नेपाल ल्याउने कुरा छैन । चिकित्सकको सल्लाहमा उतै उपचार गर्ने वा नेपाल ल्याउने केही दिनमा थाहा हुनेछ ।’

उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको थियो । अर्का एक नेपाली घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट