दयाका नौ फिल्म– चार हिट, चार फ्लप-Sutra News

दयाका नौ फिल्म– चार हिट, चार फ्लप

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । अभिनेता दयाहाङ राईले अघिल्लो वर्ष चार वटा फिल्म हिट दिए । यस वर्ष पनि उनको एकपछि अर्को फिल्म आइरहे । पछिल्ला दिनमा चकलेटी नायकहरू बक्स अफिसमा संघर्ष गरिरहँदा दयाहाङले दर्शकलाई फिल्मको स्वाद दिइरहे ।



केही वर्षयता दयाहाङ नेपाली फिल्मको ‘नम्बर एक’को स्थानमा छन् भन्दा फरक पर्दैन् । यो स्थान अझै डगमगाएका छैन । पछिल्लो परिस्थिति हेर्ने हो, भने नेपाली फिल्मले अब केही वर्ष दयाहाङकै पछि हिँड्नु पर्ने देखिन्छ ।

त्यसो त अब समय मिलाएर मात्र फिल्म खेल्ने भनिरहेका दयाहाङले यस वर्ष नौ वटा फिल्म प्रदर्शनमा भए । हातमा करिब दुई दर्जन फिल्म रहेको बताएका उनले २०८० को सुरुवातमै ब्लकबस्टर फिल्म दिए । उनले केही महिनाअघि अब नयाँ फिल्म एक वर्ष साइन नगर्ने सोचमा रहेको बताए ।

वर्षको सुरुवातमै हिट फिल्मपछि उनलाई लिएर फिल्म बनाउने मेकरको लाइन लामै छ । योबीचमा उनले अभिनय गरेका कति फिल्म चले, कति फ्लप भए । आफू अभिनित फिल्मको प्रचार प्रसारमा समय दिन नपाएका उनले पछिल्लो समय भने आफूले खेलेका केही फिल्मको प्रमोसनमा देखिने प्रयास गरे ।

यी सबै कुराले दयाहाङको करिअरलाई पक्कै केही न केही प्रभाव पारेकै होला १ यस समयमा उनको क्रेज देखिए पनि केही हदसम्म क्रेजले हलचल गरेको छ । यस समयमा यस्तो बेला आयो कि, उनका फिल्मले दर्शकको साथ पाउन छाडेको स्थितिसमेत देखियो । तर, उनमाथि अझै ३० करोडभन्दा बढी लगानी छ ।

गत वैशाखमा दयाहाङका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ प्रदर्शन भए । एक हिसाबले उनी आफै प्रतिस्पर्धामा उत्रिए । उनी अभिनित ‘जारी’ले १७ करोडमाथिको कमाई गर्दै ब्लकबस्टरको रेकर्ड राख्यो भने ‘बिहे पास’ले बक्स अफिसमा दम देखाउन सकेन । यो फिल्म एक करोडै खुम्चिएर फ्लप बन्यो ।

यसपछि जेठमा दयाहाङ अभिनित अर्को फिल्म ‘नीरफूल’ प्रदर्शन भयो । यो फिल्मले उनलाई दिएको पारिश्रमिक जति पनि उठाउन सकेन । यसको आम्दानी २५ लाखमा समेटियो । यसपछि उनको भदौमा ‘नाङ्गो गाउँ’ फिल्म प्रदर्शन भयो । यो फिल्मले तीन करोडमाथि कमाउँदै निर्मातादेखि उनलाई समेत सान्त्वना दियो ।

कात्तिकमा प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’ हिट बन्यो । यसले नौ करोडमाथि कमाई गरेर सुपरहिट भयो ।

यता गत माघ २६ गते पुन आफैसँग प्रतिस्पर्धा गरेका उनले एकमा भने फ्लप बेहोर्नु पर्‍यो । उनका दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन भएका थिए । जसमध्ये ‘दयारानी’ लगानी उठाउँदै हिटको सूचीमा पर्‍यो । यसको व्यापार दुई करोड ६० लाखमाथि छ भने ‘हात्तीछाप’ एक करोड १० लाखमा सीमित हुँदै फ्लप हुन पुग्यो ।

फागुनमा प्रदर्शन भएको दयाहाङको फिल्म ‘रङ्गेली’ले उनको फरक अभिनयलाई दर्शकले नरुचाएपछि फ्लप हुन पुग्यो । यसको कमाई ५५ लाखमै रोकियो । अब उनको यो वर्षको अन्तिम फिल्म प्रदर्शनको तरखरमा छ । जुन यही ३० गतेबाट प्रदर्शनमा आउँदै छ ।

दयाहाङको यो ‘डिग्री माइला’ फिल्मले बक्स अफिसमा सुपर हिटको दर्जा ल्याउने फिल्मवृत्तमा चर्चा रहेको छ । यस फिल्मको आर्थिक पाटोदेखि समीक्षा अर्को वर्ष हुनेछ । एउटै कलाकारमाथि यति ठूलो लगानी र व्यापार गरिएको रेकर्ड छैन ।

उनको नौ फिल्म रिलिज हुँदा एक प्रदर्शनको तरखरमा छ । जारी, नाङ्गो गाउँ, दिमाग खराब र दयारानी हिट ठहरिएका छन् भने अन्य फिल्म बिहे पास, नीरफूल, हात्ती छाप र रङ्गेली फ्लप भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट