सौगात मल्ल भन्छन्- नेपालीको विदेश पलायनलाई रोक्नुपर्छ, अबको २०-२५ वर्षपछि के होला ?-Sutra News

सौगात मल्ल भन्छन्- नेपालीको विदेश पलायनलाई रोक्नुपर्छ, अबको २०-२५ वर्षपछि के होला ?

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । अभिनेता सौगात मल्लले दैनिक हजारौँ नेपालीहरु विदेश उडिरहेको देख्दा दुःख लाग्ने बताउँदै विदेश पलायन हुने क्रम रोक्न आवश्यक रहेको बताएका छन् । फिल्म ‘द रेड सुटकेश’को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै आगामी केही वर्षपछि अवस्था कस्तो हुन्छ ? भन्ने सोचेर झस्किने गरेको सौगातको भनाइ थियो ।

यस्तै, युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको भन्दै सौगातले विदेश पलायन भइरहेको विषयलाई राज्यले के फरक पर्ला र ? भन्ने ध्येयका साथ लिने गरेको दुःखेसो गरे ।

सौगातले भन्छन्, ‘मैले देखिरहेको कुरा हो । मेरा कति साथीहरू पनि अहिले विदेशमा छन् । पहिले स्कुल पढ्दा कोही पुलिस बन्ने, कोही आर्मी बन्ने भन्थ्यौँ । ती अधिकांश साथीहरु नेपालमा छैनन् । अहिले विदेशमा छन् । यो दुःख लाग्दो कुरा हो । म यो कुरा सम्झिएर बेलाबखत झसंग, झसंग हुन्छु । अबको २०-२५ वर्षपछि अझै के होला भन्ने लाग्छ । मलाई मनमा सधै नै यो कुराले एक खालको दुःख र अप्ठ्यारो हुने गर्दछ, यसलाई कसरी रोक्ने भन्ने ठ्याक्कै थाहा छैन । सरकारले काम गर्ने हो । तर, सरकार पनि बेवास्ता गरिरहेको जस्तो देखिन्छ । केही मतलब छैन जस्तो देखिन्छ, के फरक पर्ला र ? भन्ने जस्तो देखिन्छ, तर केही होस् भन्ने चाहन्छु ।’

नेपालमा पछिल्लो केही वर्षयता हेर्दै आएका फिल्मभन्दा भिन्न रहेको बताउँदै उनले भने, ‘अहिलेको समय नै यस्तै छ । फिल्म भनेको जे घटना घटिरहेको छ, त्यसैमा त बनाउने हो नि । यो विषयले सबैलाई छोएको छ । सायद, यसैले यी कथाहरू नेपाली फिल्ममा भनिएको होला ।’

जर्मनीबाट फिल्ममा विद्यावारिधी गरेका फिडेल देवकोटाले निर्देशन गरेको फिल्ममा कलाकारहरु विपिन कार्की, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, प्रविण खतिवडा रहेका छन् । देवकोटाको यो ‘डेब्यू’ फिल्म हो ।

पिल्मका बारेमा निर्देशक देवकोटा भन्छन्, ‘द रेड सुटकेस भुईं मान्छेहरुको वर्तमान दस्तावेज हो । हाम्रा नेताहरु विदेशबाट कति रेमिट्यान्स भित्र्याउने भनेर विदेश गएका नेपाली युवाको टाउको गनेर बस्छन् । देशमा रोजगार नभई विदेश गएका ती युवाहरुको बाध्यताले नै फिल्मको कथा जन्माएको हो । धेरै पटक विदेश यात्रा गर्दा आफ्नो नामसमेत लेख्न नजान्ने नेपालीहरु भेटेँ । उनीहरुको कथा सुन्दै जाँदा ती कथा दृष्यमा उतार्नु पर्छ भन्ने लाग्यो ।’

गत वर्ष सेप्टेम्बरमा भएको ‘भेनिस फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर भएको यो फिल्मले सोही फेस्टिभलमा दुई अवार्ड जितेको थियो । फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो ।

त्यस्तै जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा उनलाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको थियो ।

‘द रेड सुटकेस’ यही चैत ३० गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट