

काठमाडौं । फिल्म ‘रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ ।
चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्मको मंगलबार सीडीसी हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै वैदेशिक रोजगारीको दुःखान्त दर्शाउने मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।
विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएर पुरस्कार समेत जितिसकेको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको ट्रेलरमा विदेशबाट आएको रातो सुट्केसलाई कुनै गन्तव्यमा पुर्याउन मुख्य पात्रले थालेको यात्रा यसको कथावस्तु रहेको छ । जसमा फिल्मका पात्र प्रवीण खतिवडाले सुट्केस लिएर हिंडेको पात्रको भूमिका गरेका छन् ।
रेडियोमा एक श्रोताले फोन गरेर सुनाएको अनौठो घटनालाई जोडेर नै फिल्मको ट्रेलर तयार पारिएको देख्न सकिन्छ । सौगात मल्लले भ्यान ड्राइभरको भूमिका गरेका छन् । विपिन र सृष्टि समावेश रहेको ट्रेलरले दर्शकलाई फिल्मप्रति उत्साह जाग्ने पक्का छ ।
सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो। त्यसयता फिल्म संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलबर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विट्जरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनाेट भएको थियो।
आइसफल प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, समन अलभितिगाको सम्पादन, उत्सव वुढाथोकीको संगीत छ । फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापाको लगानी छ ।
श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा श्रीलंकाकै विमुक्ति जयसुन्दरा सहनिर्माताको रूपमा रहेका छन् ।
पत्रकार सम्मेलनमा अभिनेता मल्लले यो फिल्म हेर्दै आएको भन्दा भिन्न रहेको बताए । यस्तै, अभिनेता खतिवडाले फिल्ममा देखाइएको रातो सुट्केसले समाजको सपना र आशालाई दर्शाउने बताए ।
निर्देशक देवकोटाले नेपाली माटो सुहाउँदो फिल्म बनाउने प्रयास गरेको बताए ।
छायाकार सुसन प्रजापतिले दृश्य सुन्दर मात्र नभएर अर्थपूर्ण हुनुपर्छ भन्ने कुरा आफूले यो फिल्म गर्दा सिकेको बताए । निर्माता रामकृष्ण पोखरेलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तहमा लैजान यस्ता फिल्म बन्नुपर्छ भनेर आफ्नो प्रोडक्सन कम्पनी आइसफल लागिरहेको बताए ।