पर्सामा सवारी जरिवानाबाट डेढ करोड संकलन-Sutra News

पर्सामा सवारी जरिवानाबाट डेढ करोड संकलन

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारी साधनको जरिवाना बापत एक करोड ५० लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।



कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरेका १५ हजार ५९१ सवारी साधनबाट सो राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट एक करोड ५७ लाख राजस्व संकलन गरेको बताए ।

“गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा जरिवानाबापतको राजस्वको रकम केही घटेको छ,” उनले भने, “अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ, विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो, तर अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।”

ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उनको भनाइ छ । कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ट्रकको संख्या ६४ सय २५ छ ।

त्यस्तैगरी ट्राफिक नियम उल्लंघन गर्ने कार, जीप र भ्यानको संख्या एक हजार ३२४ रहेको छ । ट्राफिक नियम उल्लंघन गर्ने दुई पाङग्रे सवारी साधनको संख्या सात हजार १२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट