रविपछि सहकारी ठगीमा मुछिए डोलप्रसाद अर्याल-Sutra News

रविपछि सहकारी ठगीमा मुछिए डोलप्रसाद अर्याल

मंगलबार, २० चैत्र २०८०

मंगलबार, २० चैत्र २०८०

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकपछि अर्को नेता तानिएका छन् । पार्टी सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग उठिरहेकै बखत उपसभापति एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।



अर्यालमाथि ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को चार करोड रुपैयाँ बढी रकम दुरुपयोग गरेको आरोप लागेको छ । अर्याल उपाध्यक्ष भएर सञ्चालन भएको उक्त सहकारी गत माघमै समस्याग्रस्त सहकारीको रुपमा घोषित भइसकेको थियो । जसमा ठूलो रकम स्वयम् दुरुपयोग गरेको आरोप अर्यालमाथि लागेको हो ।

रास्वपा सभापति लामिछानेका तत्कालिन व्यवसायीक साझेदार जिबी राईलाई भित्र्याएर अर्याल सहकारीबाट बाहिरिएका थिए । उनी संस्था समस्याग्रस्त बनाएर राजनीतिमा लागेका थिए ।

अर्यालले राईलाई भित्र्याएपछि सहकारी थप समस्यामा परेको र पछि समस्याग्रस्त घोषणा गरिएको एक सञ्चालक बताउँछन् । जब अर्याल सहकारीबाट बाहिरिँदै राई भित्रिए तत्कालिन समय नै पीडितहरु सहकारी विभाग पुगेका थिए । उनीहरुको उजुरी विभागमा पुगेपनि उजुरीमाथि कारबाही भने हुन सकेको छैन ।

सहकारीलाई समस्याग्रस्त बनाएर बाहिरिएका अर्याल अहिले सांसद हुँदै मन्त्री बनेका छन् । उनले नेतृत्व गरेको सहकारी अलपत्र पर्दा उनी आफ्नो कारण सहकारी समस्यामा पुगेको भन्ने विषयलाई स्वीकार भने गर्दैनन् ।

“उक्त सहकारीमा मेरो पनि २३ लाख लगानी छ, म जिम्मेवारीमा हुँदा सहकारीमा कुनै समस्या थिए, राजीनामा दिएर सहकारीबाट राजनीतिमा आएको हुँ”, उनले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् ।

संसदमा पनि उठ्यो छानबिनको माग

सहकारी ठगी प्रकरणमा मुछिएका मन्त्री अर्यालमाथि संसदमा छानबिनको माग उठेको छ । गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिनको माग गरेको नेपाली कांग्रेसले अर्यालमाथि पनि छानबिन हुनुपर्ने माग अघि सारेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद कान्ति सेजुवालले मन्त्री अर्याललाई छानबिनको दायरामा ल्याउन माग गरे । “सहकारी ठगीमा प्रत्येक दिन मन्त्रीहरुको नाम आइरहेको छ, अहिले श्रममन्त्री उपाध्यक्ष रहेको सहकारी संस्थाबारे विषय बाहिर आएको छ, यसमा सरकारले छानबिन गरोस्, मन्त्रीलाई छानबिनको दायरामा ल्यायोस्”, उनले भनेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने स्वयम् गृहमन्त्री बनेसँगै उक्त प्रकरणमाथिको छानबिन प्रभावित भएको आकंलन धेरैको छ । लामिछानेमाथि छानबिन गर्न आनाकानी भइरहेको सन्दर्भमा अर्याललाई छानबिनको दायरामा ल्याउने सम्भावना भने कम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट