बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत-Sutra News

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।



प्रस्तावको पक्षमा ५६ र विपक्षमा ३७ मत परेको छ । जम्कट्टेलले पेश गरेको प्रस्तावमाथि १५ जनाले मत दिएनन् ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको मत आवश्यक पर्दछ । जम्कट्टेलले पाएको मत बहुमत हो ।

मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादी केन्द्रसहित एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मत दिएका छन् । नेपाली कांग्रेस विपक्षमा मत हालेको छ भने राप्रपा र नेमकिपाले पक्ष वा विपक्षमा मत दिएनन् ।

यसअघि एकीकृत समाजवादीको अडानसँगै मुख्यमन्त्री जम्कट्टेल पाउलान् वा नपाउलान् भन्ने अन्योल देखिएको थियो । तर, एकीकृत समाजवादी सहमतिमा आएसँगै अन्योलता हटेको हो ।

२०७९ पुसमा एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले २०७९ माघ ३ मा पहिलो पटक विश्वासको मत लिएका थिए । तर, लगत्तै गठबन्धन परिवर्तनपछि उनले पुनः २०७९ चैत १० मा दोस्रो पटक मत लिएका थिए ।

फागुन २१ मा भएको गठबन्धन परिवर्तनसँगै कांग्रेससहितका दलहरु सरकारबाट बाहिरिएसँगै जम्कट्टेलले यो तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट