एमाले र रास्वपा घरदैलोमा निस्किँदा किन अलमलमा छन् कांग्रेस र माओवादी ?-Sutra News

एमाले र रास्वपा घरदैलोमा निस्किँदा किन अलमलमा छन् कांग्रेस र माओवादी ?

सोमबार, १९ चैत्र २०८०

सोमबार, १९ चैत्र २०८०

काठमाडौं । इलाम–२मा आगामी वैशाख १५ गते हुँदै गरेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्ता साझेदार दुई दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तय गर्दै घरदैलो अभियानमा जुटेका छन् । एमाले र रास्वपा चुनावी अभियानमा होमिरहँदा विशेषगरी सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने उम्मेदवार टुंग्याउने विषयमा नै अलमलमा छन् ।



नेकपा (एमाले)ले स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङ्ग पुत्र सुहाङ नेम्वाङ्गलाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बुलाई अघि सारेको छ ।

एमालेले चैत ११ मा सचिवालय बैठकमार्फत सुहाङको नाम टुंग्याएको थियो । नाम टुंग्याएलगत्तै सुहाङ चुनावी अभियानमा छन् ।
यता, रास्वपाले चैत १७ मा इलाम चोकबजारमा कार्यक्रम गर्दै लिम्बुको उम्मेदवारी घोषणा थियो । उम्मेदवारी घोषणासँगै लिम्बु पनि घरदैलो अभियानमा छन् ।

एमाले र रास्वपाका उम्मेदवार घरदैलामा जुट्दा एकीकृत समाजवादीका जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ र स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम पनि चुनावी अभियानमा छन् । साना दल कम प्रतिस्पर्धी हुने आंकलनका बीचमा एमाले र रास्वपासँगै मुख्य मानिएका कांग्रेस र माओवादी केन्द्र भने उम्मेवार टुंग्याउनै नसक्ने अवस्थामा छन् ।

कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्कासहित सात जनाको नाम पार्टी केन्द्रमा आएको छ । जिल्लाले सिफारिस गरेका सात जनामध्येबाट कसलाई उम्मेदवार बनाउने कांग्रेस केन्द्रले टुंग्याउन सकेको छैन । जसको कारण कांग्रेस उम्मेदवार चुनावी अभियानलाई अगाडि बढाउन सकेका छैनन् ।

यता, माओवादी केन्द्रको पनि अवस्था अस्पष्ट छ । नेता हर्कबहादुर नेम्वाङ्गसहित चार जनाको नाम जिल्लाबाट सिफारिस भएपनि केन्द्रले टुंगो नलाउँदा उम्मेदवार चुनावी अभियानमा जान सकेका छैनन् । माओवादी केन्द्रभित्र आफैंले उम्मेदवारी दिने वा अर्को दलको उम्मेदवारलाई सघाउने भन्ने अन्योल छ ।

गत २०७९ मंसिर भएको आम निर्वाचनलाई हेर्दा विशेषगरी इलाम–२ मा मुख्य प्रतिस्पर्धीको रुपमा एमाले र कांग्रेस देखिन्छन् । तत्कालिन चुनावमा एमालेका नेम्वाङ्गले ११४ मतले कांग्रेसका उम्मेदवार खड्का पराजित भएका थिए । यद्यपि, कांग्रेस उम्मेदवार खड्कालाई तत्कालिन गठबन्धन माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समेत सहयोग थियो ।

समानुपातिकतर्फको मतलाई हेर्दा एमालेले २६ हजार ५ सय ६२ मत ल्याउँदा कांग्रेसले २२ हजार ३ सय ३३ मत पाएको थियो भने माओवादी केन्द्रले ५ हजार १ सय ५३ मत पाएको थियो । यस्तै, रास्वपाले ४ हजार ६ सय ८६ मत पाएको थियो ।

तत्कालिन समय समानुपातिकतर्फ पाएको मतलाई हेर्दा इलाम–२ मा मुख्यगरी एमाले र कांग्रेस उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ । तर, गत वैशाखमा भएको उपनिर्वाचनलाई हेर्दा रास्वपाको मत जबरजस्तरुपमा बढेको देखिन्छ ।

यद्यपि, उम्मेदवार चयनकै विषय कांग्रेस र माओवादीमा भइरहेको अलमलले भने एमाले र रास्वपालाई सघाउ पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट