चाहना पूरा गरेकी नीतिले भनिन्- ‘अनलक्की’ भन्दा निराश बनेकी थिएँ-Sutra News

चाहना पूरा गरेकी नीतिले भनिन्- ‘अनलक्की’ भन्दा निराश बनेकी थिएँ

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । पूर्व मिस इन्टरनेसनल नीति शाहलाई फिल्म क्षेत्रमा प्रवेश गर्न नै हम्मे हम्मे परिरहेको थियो । भनौँ, नीति आफूलाई अभिनेत्रीका रूपमा उभ्याउनलाई सगरमाथा चढे झैँ भयो ।  हुन त, नेपालमा मिस नेपालसँग जोडिएका युवतीलाई फिल्ममा डेब्यु गर्न रत्ती पनि गाह्रो काम थिएन । तर, नीतिलाई भने पहिलो फिल्म खेल्न साह्रै सकस पर्‍यो ।



कुनै ताका मोडलिङ गर्दा फिल्मको अफर लिएर जाने निर्माता निर्देशकलाई नीतिले फिल्ममा रुचि नभएको जवाफ दिएर फर्काउने गरेकी थिइन् । एउटा हाई प्रोफाइल ब्रेकअप पछि अचानक उनलाई फिल्म खेल्ने हुटहुटी चल्यो । आफैँ फिल्म बनाउनेदेखि खेल्नेसम्मका लागि कसरत थालिन् । उनले ल भन्नु मात्र के थियो फिल्म खेल्ने अफरको ताँती लाग्यो ।

यसपछि त उनले अभिनय गर्ने भनेर ४ वटा फिल्म नै साइन गरिन् । त्योमध्ये उनले अनमोल केसीसँग ‘एक्स नाइन’ साइन गरिन् । तर, आजभोलि भन्दा भन्दै त्यो फिल्म फ्लोरमा जानै सकेन । आजित भएर नीति पनि त्यो फिल्मबाट अलग भएको घोषणा गर्न बाध्य भइन् ।

लामो समयको पर्खाइ चलिरहँदा उनले अनमोलसँग नभए पछि प्रदीप खड्काको जोडी भएर अभिनय गर्ने कम्मर कसिन् । प्रदीपको मुख्य भूमिका रहने ‘कामिनो’मा नीति लिडिङ लेडी रहने खबर आयो । यो फिल्म पनि बन्ने भन्दा भन्दै पनि बनेन् । ‘कामिनो’ पनि छाड्नु परेपछि दिक्क हुँदै नीति अभिनयमा पोख्त बनाउन मुम्बई लागेकी थिइन् ।

मुम्बई पुगेकी नीतिलाई फिल्म ‘रावायण’का लागि अफर आएपछि उनी पुनः नेपाल आइन् । नीतिलाई यो पटक साइन गरेको फिल्म ‘रावायण’ त बन्छ भन्ने पक्का थियो । किनकि, यो फिल्मको तयारी पनि चलिसकेको थियो । तर, अन्तिम समयमा निर्माण पक्ष र नायक अनमोल केसीबीच कुरा नमिल्दा फिल्मको छायांकन नै अन्यौलता हुँदै बन्न नबन्ने अनिश्चित हुन पुग्यो । नीतिले ‘रावायण’का लागि ‘डिग्री माइला’बाट आएको अफर टुक्राएकी थिइन् ।

नीतिका लागि फिल्म क्षेत्रमा प्रवेश गर्न यति गाह्रो किन भइरहेको होला ? भन्ने थियो । धेरैले सोचेका थिए, अब नीतिले हार मानिन् । त्यसयता फिल्ममा आफ्नो दरिलो कमब्याक गराउने चाहना पूरा नहुने जस्तो नदेखिएपछि नीति पर्ख र हेरको समयमा थिइन् । यो कुराकै बीच अचानक उनले नयाँ फिल्म ‘खजुरे ब्रो’ गर्न लागेको समाचार आयो ।

यो फिल्ममा अनुबन्धित भएसँगै नीतिले घोषणा कार्यक्रममा मुखै खोलेर भनेकी थिइन् , ‘अनमोल र प्रदीपसँग फिल्म खेल्न जुरेको रहेन छ । रियर राईसँग जुर्यो ।’

एक नम्बर मानिएका हिरोसँग डेब्यु गरेर करिअर चम्काउँला भन्ने चाहना पूरा नभए पनि आखिर, फिल्म त खेलेरै छाडेकी नीतिले आफूले अभिनय गर्ने भनिएका फिल्म नबन्ने खबर सार्वजनिक भएपछि मिडियामा आफूलाई जोडेर आएका खबरले निराश बनाएको बताएकी छिन् ।

वैशाखको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक कार्यक्रममा नीतिले फिल्म क्षेत्रमा आएपछि आफूलाई केही फरक लागेको र यो क्षेत्रमा भिज्दै गएपछि भने आफूले धेरै कुरा बुझेको बताइन् ।

नीतिले भनिन्, ‘जब रावायण पनि बनेन्, त्यसपछि मैले साइन गरेका फिल्म नै बन्दैन भनेर मिडियामा खबरहरु आएँ । यो कुराले मलाई निराश बनाएको थियो । म मेरो मिडियाका साथीहरुलाई यस्तो नगरिदिनुहुन अनुरोध गर्दछु ।’

उनले अगाडि भनिन्, ‘अलिकती केही गर्न लागिरहेको बेलामा यस्ता कुराहरु आउँदा निराशा छाउने रहेछ । मलाई सबैले साथ दिनुहोला । यस्ता खबरले अलिकति उत्साह घटाउने काम गर्दो रहेछ ।’

‘रावायण’बाट निकालिएको गसिपलाई पनि नीतिले खण्डन गरिन् । उनले भनिन्, ‘त्यो फिल्मको आफ्नै कथा छ । म भारतमा अनुपम खेर सरको इन्स्युच्युडमा अभिनयको अध्ययन गरिरहेको थिएँ । मलाई निर्देशकले बोलाउनु भयो र नेपाल आएँ । पछि फिल्म नबन्ने भयो । फिल्म नबन्ने भएको केही समयपछि मात्र मैले ‘खजुरे ब्रो’ साइन गरेकी हुँ । यसैले, यी दुई फिल्मको कुनै पनि कनेक्शन छैन ।’

यस्तै, आफूले फिल्म ‘खजुरे ब्रो’का लागि निकै नै मिहिनेत गरेको बताउँदै उनले भनिन्, ‘मेरो आगामी फिल्ममा अझै राम्रो हुनेछ भन्ने आशा गरेको छु । मलाई सबैले साथ दिनुहोला । यो मेरो डेब्यू फिल्म हो । मलाई रमाइलो लागिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट