प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा ‘नगरकी छोरी’ कार्यक्रम-Sutra News

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा ‘नगरकी छोरी’ कार्यक्रम

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम शुभारम्भ गरेको छ । बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंक लि. का तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।



बागलुङ नगरपालिका वडा नं. २ की अदिती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली ‘नगरकी छोरी’ कार्यक्रमको शुभारम्भ गरिएको हो ।

‘नगरकी छोरी’ कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौताबमोजिम बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंक लि. को शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट एकमुष्ट पाँच हजार रुपैयाँ जम्मा गरिनेछ भने प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले इच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउनेछन् ।

प्रभु बैंक लि. सँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा आजबाट शुभारम्भ गरिएको ‘नगरकी छोरी’ कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट