सत्ताको आश्वासन बाँड्दै कांग्रेस, के फर्किहाल्न सहज छ ?-Sutra News

सत्ताको आश्वासन बाँड्दै कांग्रेस, के फर्किहाल्न सहज छ ?

आइतबार, १८ चैत्र २०८०

आइतबार, १८ चैत्र २०८०

काठमाडौं । सत्ता समीकरण फेरबदलसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हाल प्रमुख प्रतिपक्षीको भूमिकामा छ । तर, प्रतिपक्षीको बेन्चमा पुगेको कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्नभन्दा सत्तामा फर्किने जबरजस्त प्रर्यत्नमा देखिएको छ । कांग्रेसका शीर्ष नेताहरुका अभिव्यक्ति हेर्दा, कांग्रेस केही समयभित्रै सत्तामा फर्किसक्ने छ ।



कांग्रेस महामन्त्री गगन थापा अहिले संवाद यात्रामा छन् । गत माघ १३ देखि सुरु गरेको यात्रा केन्द्रीय सदस्य केशव बुढाथोकीको निधनसँगै रोकिएको थियो । थापाले रोकिएको संवाद यात्रालाई गत बिहीबारदेखि रोकिएकै स्थान नवलपरासीबाट सुरु गरेका छन् ।

कांग्रेसभित्र पुनर्जागरण ल्याउने भनिएको यात्रामा निस्कँदा थापाको अभिव्यक्ति भने अनौठो खालको छ । पार्टीभित्र जागरण ल्याउने अन्य विषयलाई छाडेर थापाले छिट्टै सत्तामा फर्किसक्ने भन्दै कार्यकर्तालाई आश बाँड्न थालेका छन् ।

संवाद यात्राका क्रममा शुक्रबार कपिलवस्तुमा पुगेका थापाले कांग्रेस छिट्टै सत्तामा फर्किने भन्दै चिन्ता नगर्न आग्रह गरे । “भर्खर त गएको हो, एक/डेढ हप्ता भयो । फेरि सत्तामा आइहाल्छ । धेरै पनि छैन । केही समयपछि फेरि आउँछ”, थापाले भनेका छन्, “सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।”

महामन्त्री थापाले मात्रै आश्वासन बाँडेका छैनन् अन्य शीर्ष तहमा गनिने नेताहरुले पनि तल्लो तहका कार्यकर्तालाई सत्तामा फर्किने आशा बाँडिरहेका छन् ।

नेता डा. शेखर कोइराला पनि एक महिनाभित्रै नयाँ गठबन्धनमार्फत कांग्रेस सत्तामा फर्किने बताउँछन् । शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको १६औं वार्षिक साधारणसभामा बोल्दै नेता कोइरालाले कांग्रेस नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्ने दाबी गरेका हुन् ।

“केही दिनपछि, केही महिनापछि अर्को गठबन्धन बन्छ, पक्कै बन्छ, हामी विपक्षमा छौं, सत्तामा जान कोसिस गरिराखेका छौं, त्यो स्वभाविक हो”, कोइरालाले भनेका छन् ।

कोइरालाले आफ्नो सम्बोधनका क्रममा अहिलेको परिपाटीभित्र सत्ता गठबन्धन परिवर्तनका खेलहरु भइरहने कुरा स्वभाविक भएको बताएका छन् । उनले अहिलेको अवस्थामा सत्तामा जानेले जित्ने भन्दै कांग्रेस जनमतको रक्षाका निम्ति पनि त्यसतर्फ प्रर्यत्नरत भइरहने बताएका छन् ।

यद्यपि, नेताहरुले भनेजस्तै कांग्रेस सत्तामा फर्किहाल्न भने त्यति सहज नभएको विश्लेषण राजनीतिक वृत्तमा देखिन्छ । कांग्रेस नयाँ समीकरण बनाएर सत्तामा फर्किने बताएको छ । तर, बहुमतसहितको समीकरण सहजै बन्ने परिस्थिति नभएको राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई अहिलेको सत्ता गठबन्धन भत्किन सहज नभएको बताउँछन् । “अहिलेको गठबन्धन एक त वैचारिक हिसाबले निकटहरुको गठबन्धन हो, अर्को मुख्यगरी नेतृत्वकर्ता दलभित्रको बाध्यकारी परिस्थितिको उपज पनि हो, जसलाई दृष्टिगत गर्दा गठबन्धन भत्किन सहज देखिन्न, भत्किने कारणहरु पनि देखिएका छैनन्”, उनले भनेका छन्, “कांग्रेसको प्रर्यत्न स्वभाविक छ तर, देखेजस्तो सम्भव छैन ।”

कांग्रेसले लोकतान्त्रिक पक्षधरलाई मिलाएर नयाँ गठबन्धन निर्माणको प्रर्यत्न गरिरहेको छ । कांग्रेसले राप्रपा, लोसपा, जनमतलगायतका पार्टीसँग छलफल पनि गरेको छ । तर, साना दलहरुलाई समेट्दा अंकगणित पुर्‍याउन निकै जटिल हुने भट्टराईको विश्लेषण छ ।

संसद विघटनपछि बनेको कांग्रेस–माओवादी गठबन्धन २०७९ मंसिरको निर्वाचनपछि प्रधानमन्त्री चयनका बेला भत्किएको थियो । प्रधानमन्त्री चयनका बेला बनेको एमाले–माओवादी गठबन्धन राष्ट्रपति निर्वाचनको बेला भत्किएको थियो । कांग्रेस राष्ट्रपति निर्वाचनसँगै सत्तामा फर्किएको थियो ।

तर, राष्ट्रियसभा अध्यक्षको निर्वाचनको प्रक्रियासँगै कांग्रेस–माओवादी गठबन्धन पुनः भत्कियो । माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सहकार्यको सुरुवात गरेको छ । अहिले एमाले–माओवादी गठबन्धनको नेतृत्वमा सरकार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट