म अहिले जनयुद्धमा भन्दा धेरै खटेको छु, बढी लडेको छु– प्रचण्ड-Sutra News

म अहिले जनयुद्धमा भन्दा धेरै खटेको छु, बढी लडेको छु– प्रचण्ड

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्दै नयाँ समीकरण गर्ने कुरा रणनीतिक र दूरगामी रहेको बताएका छन् ।



काठमाडौंमा २४ औँ जेलब्रेक स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको नेतृत्व गर्दै नयाँ समीकरण गर्ने कुरा क्रान्तिकारी र चूनौतिपूर्णका साथै रणनीतिक र दूरगामी रहेको बताएका हुन् ।

‘समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरणको कोशिस गरेका छौँ, अहिले सरकारको नेतृत्व गर्दै नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक र दूरगामी छ,’ उनले भने ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्नो कदमले मात्रै सबै देशभक्त बामपन्थी र कम्युनिष्टलाई एकताबद्ध गर्दै समाजवादको बाटो कोर्न सक्ने दाबी गरे । उनले लगातार घेराबन्दी भइरहेको र घेरा तोड्ने लडाई आफूले लडिरहेको धारणा राखे ।

‘मेरो विश्वासमा क्रान्तिकारी छ, जोखिम छ, चुनौति छ, तर यसले मात्रै देश र वामपन्थी र कम्युनिष्टलाई एकताबद्ध गर्दै समाजवादको बाटो कोर्न सक्ने विश्वासको साथ अघि बढेको छु, म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु, लगातार घेरा तोड्ने लडाइँ जारी छ,’ उनले थपे ।

माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले भिन्न विचार र भिन्न तरिकाले अहिले पनि लडाइँ जारी रहेको बताएका हुन् । उनले माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाउने आत्मविश्वास नेतृत्वलाई रहेको जिकीर गरे ।

‘म थाके कि, प्रचण्ड स्खलित भयो कि भन्ने ठान्नु भयो भने म यहाँहरूलाई विनम्रतापूर्ण रूपमा भन्छु, अहिले त मेरो झन क्रान्तिबाहेक केही छैन्,’ उनले भने ।

यस्तै, सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफूले वर्ग संघर्षकोे निरन्तरता मानेको बताए ।

आफ्नो हिस्साको वर्ग संघर्ष चलाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि संघर्षको एउटा स्वरुप भएको बताए । उनले निराशा बाँड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट