कालोपत्र गरेको छ महिनामै उप्कियो लोकमार्गको सडक-Sutra News

कालोपत्र गरेको छ महिनामै उप्कियो लोकमार्गको सडक

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।



एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो ।

अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्र उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ । गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले आरोप लगाएका छन् ।

विं.सं. २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौंले मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ ।

“ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ । अहिले गाडी कुदाउने खालको सडक छैन । जताततै खाल्डाखुल्डी र हिलोधुलो छ”, चालक बलबहादुर सुनारले भने, “गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाइ कारबाही गर्नुपर्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए । नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्र उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ ।

लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे ।

इञ्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए ।

मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाभित्र करिब १४२ किलोमिटर पर्छ । त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट