बुबाको दाह संस्कार गरेर फर्किएका छोरा त्रिशूलीमा बेपत्ता, पाँच जनाले ज्यान गुमाए-Sutra News

बुबाको दाह संस्कार गरेर फर्किएका छोरा त्रिशूलीमा बेपत्ता, पाँच जनाले ज्यान गुमाए

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । क्यान्सर लागेर ज्यान गुमाएका बुबाको दाह संस्कार गरेर गोरखा फर्किंदै गरेका छोरा ट्याक्सीसहित त्रिशूलीमा खस्दा बेपत्ता भएका छन । घटनामा ट्याक्सी चालकसहित पाँच जनाको निधन भएको छ ।



प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका ७ का ३५ वर्षीय अर्जुन सिर्मल रोकाय, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अञ्जना रोका, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोका बेपत्ता छन् ।

शुक्रबार साँझ काठमाडौंको पशुपति आर्यघाटमा बुबा शंकरको दाह संस्कार गरेर काजका लागि गोरखा जाँदै गरेका दिवस बेपत्ता भएका हुन् । शंकरकी आमा जुनकिरी, शंकरकी दिदी बहिनी हरिमाया र अञ्जना दुर्घटनामा ज्यान गुमाएका छन् ।

त्यसैगरी, हरिमायाका छोरा आगमनले पनि सोही दुर्घटनामा ज्यान गुमाएका छन् । ट्याक्सी चालक अर्जुन पनि जुनमायाको माइलो ज्वाई भएको खुलेको छ । ट्याक्सीमा सवार दिवसबाहेक सबैको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए ।

शंकरका आफन्तहरू तीन वटा गाडीमा गोरखातर्फ जाँदै थिए । दुई वटा गाडी मुग्लिन पुगेर कुरे पनि अर्को गाडी नपुगेपछि प्रहरीलाई जानकारी गराएका थिए । लगत्तै खोजी गर्दै जाँदा सडकको डिभाइडर भाँच्चिएको देखेपछि त्रिशूली नदीमा खसेको देखिएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गअन्तर्गत मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयको सहयोगमा दिवसको खोजी भइरहेको छ ।

परिवारका सदस्य गुमाएको रोका परिवारमा थप पाँच जनाको मृत्यु र एक जना बेपत्ता हुँदा पूरै गाउँ शोकमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट