‘महाजात्रा’ले पहिलो सातामा कमायो ६ करोड २४ लाख-Sutra News

‘महाजात्रा’ले पहिलो सातामा कमायो ६ करोड २४ लाख

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।



चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ ।

फिल्म ‘महाजात्रा’ले प्रदर्शनको एक हप्तामा घरेलू बजारमा सानदार अंक जोडेको छ । शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा एक हप्ताको कमाई ६ करोड २४ लाख उल्लेख छ । १ करोड २३ लाखको ओपनिङ गर्दै पहिलो विकेन्डमा ४ करोड २६ लाख कमाएको छ । अब, फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्छ या गर्दैन, त्यसका लागि भने केही साता पर्खिनुपर्ने हुन्छ ।

देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सुपरहिट घोषणा गरिसकेको फिल्मले शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेसँगै १० करोडको आँकडा कटाउने प्रक्षेपण गरिएको छ ।

क्युएफएक्सकी जेनरल म्यानेजर तृप्ति गिरीले केही समय अगाडिको निर्णय अनुसार फिल्मलाई वर्गीकरण गरिएको बताइन । उनले भनिन्, ‘हाम्रो नेपालभरका हलमा प्रदर्शन भएर पहिलो तीन दिन र एक सातामा गरेको व्यापारका आधारमा सुपरहिट, ब्लकबष्टर घोषणा गर्ने थालनी गरेका हौँ । महाजात्रामार्फत सुरुआत भएको छ । यो नेपाली मात्र नभई क्युएफएक्समा प्रदर्शन हुने सम्पूर्ण फिल्ममा लागु हुनेछ । हाम्रो हलमा प्रदर्शन भइरहेका फिल्ममा दर्शकको आकर्षणलाई यसले सहज रुपमा बुझ्न मदत गर्छ । गतसाता प्रदर्शन भएकोमा महाजात्रा मात्र हाम्रो व्यापारको आधारमा सुपरहिट भएको हो ।’

फिल्मलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट