जाडो सकिँदै गर्दा उपत्यकामा कोभिडको नयाँ लहर, दर्जनौं सक्रमित-Sutra News

जाडो सकिँदै गर्दा उपत्यकामा कोभिडको नयाँ लहर, दर्जनौं सक्रमित

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । चिसो मौसम हट्दै गर्दा काठमाडौं उपत्यकाभित्र कोभिड–१९को लहर देखिन थालेको छ । मौसमी रुघाखोकीले ग्रस्त बनेका बिरामीलाई जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हो ।



अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित विभिन्न अस्पतालमा दर्जन बढी संक्रमितको उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपत्यकामा १३ जना संक्रमितको सघन उपचार चलिरहेको छ । उनका अनुसार यो संख्यालाई पूर्ण मान्य अवस्था भने छैन ।

“केही अति सिकित्सको परीक्षण गर्दा भेटिएको तथ्यांक हो, अहिले कोरोना परीक्षण गराउने क्रम घटेको हुनाले वास्तविक संख्या बढी हुनसक्छ”, डा. बुढाथोकीले भनेका छन् ।

यद्यपि, कोभिड खोप लगाउनेको संख्या बढी भएको हुनाले लहर नै चल्छ भन्ने नठानिएको बुढाथोकीले बताएका छन् । “हालसम्म लक्षित समूहमध्ये ९७ प्रतिशतभन्दा बढीले खोप लगाइसकेका छन्, खोप लगाइसकेको कारण यसले महामारीको रुप लिने जोखिम कम हुनसक्छ”, उनले भनेका छन् ।

तथापि, सम्भावित जोखिमलाई भने सामान्यकृतरुपमा लिन नमिल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला बताएका छन् । देखिएका संक्रमितको अवस्थालाई हेर्दा दीर्घरोगी, बृद्ध र बालबालिका बढी जोखिममा रहेको देखिएको उनी बताउँछन् ।

“मौसमी रुघाखोकी भनेर वेवास्ता गर्नु हुँदैन”, सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, “दीर्घरोगी, बृद्ध र बालबालिकालाई बढी नै ध्यान दिनुपर्छ ।”

डा. बसौलाले संक्रमण देखिएको आशंका लागेमा विशेष ख्याल गर्न पनि आग्रह गरेका छन् । संक्रमणको आशंका लागेको अवस्थामा तत्कालै परीक्षण गराइ चिकित्सकको सुझावअनुसार उपचार गर्न डा. बसौलाको आग्रह छ ।

साथै, सम्भावित जोखिमलाई मध्यनजर गरी कोभिडविरुद्धको खोप नलगाएकालाई पनि लगाउन उनले सुझाव देखिएका छन् । खोप लगाएकामा कम जोखिम देखिएको भन्दै खोप लगाउनमा नहिचकिचाउन उनको आग्रह छ ।

अहिले शुक्रराज ट्रपिकलमा खोप लगाउने व्यवस्था गरिएको पनि उनले जनाए । उनले भनेका छन्, “हरेक दिन बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म फाइजर खोप लगाउने व्यवस्था गरेका छौं, नलगाएका सबैलाई खोप लगाउन हाम्रो आग्रह छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट