फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति घोषणा-Sutra News

फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति घोषणा

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय गरिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको फिल्म ‘अञ्जिला’ वि.सं २०८१ माघ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।



एन्जिला स्वयंको मुख्य भूमिका रहेको फिल्मका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी माघ ११ गते प्रदर्शन गर्न लागिएको बताए । यस फिल्ममा एञ्जिलासँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान, प्रेम कुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

निर्देशक चाम्सले आफ्नो निर्देशन करियरमा यो फिल्मले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन् । एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई फिल्ममा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि एञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो फिल्म ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

एन्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।

फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा फिल्ममा देखिने बताए । १४ वर्षदेखि एञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले एञ्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर फिल्म बनाएको बताए । वास्तविक जीवनकै भूमिका निभाएका श्रेष्ठको पनि यस फिल्ममा प्रमुख भूमिका रहेको छ ।

सुदीप बरालको डिओपी रहेको यस फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका सह-निर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन् । यस फिल्मको छायाङ्कन एन्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा गरिएको हो ।

यो पनि पढ्नुहोस्

‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक, यस्ता देखिए दयाहाङ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट