उपनिर्वाचनमा बाँडिए सत्ता साझेदार, एकलरुपमै प्रतिस्पर्धामा होमिँदै-Sutra News

उपनिर्वाचनमा बाँडिए सत्ता साझेदार, एकलरुपमै प्रतिस्पर्धामा होमिँदै

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभाअन्तर्गतको इलाम–२ र प्रदेशसभाअन्तर्गतको बझाङ १(१)को उपनिर्वाचनमा सत्ता साझेदार दलहरु नै एकल प्रतिस्पर्धामा जाने भएका छन् । सत्ता साझेदार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) एकल प्रतिस्पर्धामा जाने निर्णयमा पुगेका हुन् । दलहरुले पार्टी बैठक नै बसालेर एकलरुपमा चुनाव लड्ने गरी औपचारिक निर्णय गरेका छन् ।



नेकपा (एमाले)ले चैत ११ मा पार्टी सचिवालय बैठक बसालेर एकलरुपमै चुनावमा होमिने निर्णय गरेको थियो । एमालेले इलाम–२ मा स्वर्गीय नेता सुवाचन्द्र नेम्वाङ्ग पुत्र सुहाङ नेम्वाङ र बझाङ–१(१)मा दमनबहादुर भण्डारीलाई उम्मेवार बनाउने घोषणा गरेको छ । उम्मेदवारी घोषणासँगै एमाले चुनावी अभियानमा होमिइसकेको छ ।

एमालेले एकलरुपमा उम्मेदवारी घोषणा गर्दै चुनावमा होमिएसँगै अन्य सत्ता साझेदार दलले पनि एकलरुपमै चुनावमा होमिने निर्णय गरेका हुन् । प्रतिनिधिसभाअन्तर्गतको इलाम–२ मा मात्रै चुनाव लड्ने निर्णय गरेको रास्वपाले उम्मेदवार तय गरिसकेको छैन ।

अहिले विशेषगरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुसँग रास्वपा संवादमा देखिन्छ । रास्वपाले आगामी चैत १६ मा उम्मेदवारबारे निर्णय लिने बताएको छ ।

यता, माओवादी केन्द्रले पनि बुधबार सचिवालय बैठक बसालेर चुनावमा एकलरुपमा होमिने निर्णय गरेको छ । चुनावमा होमिने निर्णय गरेपनि माओवादीले उम्मेदवारबारे भने टुंगो लगाइसकेको छैन । माओवादी केन्द्रले केही दिनभित्रै उम्मेदवारको नाम टुंगो लगाउने जनाएको छ ।

एकलरुपमै चुनावमा होमिने निर्णयमा पुगेको एकीकृत समाजवादीले भने उम्मेदवार पनि तय गरेको छ । बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले इलाम–२ मा जीतबहादुर राई र बझाङ–१(१)मा दिलबहादुर सिंहलाई अघि सार्ने आन्तरिक सहमति गरेको नेताहरुले बताएका छन् ।

सत्ता साझेदार चार दलले एकल रुपमा चुनावमा होमिने निर्णय गर्दै गर्दा जनता समाजवादी पार्टी (जसपा) भने मौन देखिन्छ । पहाडी क्षेत्रमा खास प्रभाव नरहेको जसपाले कसलाई सघाउन यकिन भइसकेको छैन । नेताहरुका अनुसार जसबारे केही दिनमै जसपाले निर्णय गर्नेछ ।

यसअघि सत्ता साझेदार दलहरुबीच संयुक्तरुपमा चुनावमा जाने विषयमा छलफल भएको थियो । तर, सहमति नभएसँगै दलहरुले एकलरुपमा चुनावमा होमिने निर्णय गरेका हुन् । दलहरुले चुनावमा जाने निर्णयलाई जनमत परीक्षणको रुपमा पनि अथ्र्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट