व्यक्तिको सुरक्षा गर्न आधुनिक हतियार बोक्न पाइँदैन- गृह सचिव-Sutra News

व्यक्तिको सुरक्षा गर्न आधुनिक हतियार बोक्न पाइँदैन- गृह सचिव

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अधिकार अति कमजोर अवस्थामा रहेको बताएका छन् ।



बुधबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सीडीओसँग धेरै अपेक्षा रहे पनि उनीहरूसँग कुनै प्रकारको सुविधा नभएको बताएका हुन् ।

यस्तै, उनले बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा आएको बताउँदै बाँकी जग्गाको खोजी कार्य भइरहेको बताए । ‘बाँसबारी जग्गाको सन्दर्भमा सबैलाई थाहा भएको विषय हो, सार्वजनिक जग्गा चाहिँ ओगट्न पाउँदैन, ७७ जिल्लामा कसैले सार्वजनिक जग्गा ओगटेको भए खोज तलास गर्न सुरु गरिएको छ, कसैले जग्गा ओगटेको छ भने खबर गर्नुहोस्,’ उनले भने ।

यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लिएको हतियारको बारेमा पनि अनुसन्धान भइरहेको गृह सचिव अर्यालको भनाइ थियो । ‘हतियारको प्रयोग सन्दर्भमा राजधानी जस्तो ठाउँमा त्यस्तो घटना घट्नु राम्रो होइन्, झापा जिल्लाबाट हतियार लाइसेन्सको रिन्यु भएको रैछ, यसबारे अनुसन्धान गर्ने टोली बनाएर काम हुन्छ,’ उनले भने, ‘आफ्नो घरबाहिर हतियार लिएर जान पाउँदैन ।’

यसैगरी उनले कोही व्यक्तिको सुरक्षाका लागि मात्रै भनेर अत्याधुनिक हतियार बोक्न नपाइने बताए । ‘व्यक्तिको सुरक्षा गर्न भनेर आधुनिक हतियार बोक्नु पाइँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट