भोलिदेखि सुरु हुने एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ परीक्षार्थी सहभागी-Sutra News

भोलिदेखि सुरु हुने एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ परीक्षार्थी सहभागी

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।



बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्न पत्र र उत्तरपुस्तिका जिल्ला जिल्ला पुर्‍याइएको जानकारी दिए । उनले परीक्षालाई शान्ति पूर्ण रुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे ।

“भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु,” शर्माले भने, “साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न र गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।”

उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्ति पूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

परीक्षा दिने पाँच लाख बढी

बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एकरएक, पर्सा र सप्तरीबाट दुई–दुई, रुपन्देहीबाट चार जना छन् ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक र सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जापानमा एक परीक्षा केन्द्र

यस वर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए ।

उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट