ढोलाहिटी हत्या प्रकरण: चार जनाविरुद्ध मुद्दा दायर-Sutra News

ढोलाहिटी हत्या प्रकरण: चार जनाविरुद्ध मुद्दा दायर

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । ललितपुरको ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको घटनामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।



जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएकामध्ये घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले खोटाङ घर भई ललितपुरको जैनखेल बस्ने होटल डी पोपिनाका सञ्चालक विजय राई, खोटाङ घर भई खुमलटार बस्ने अर्का सञ्चालक सुलभ राई, भोजपुर घर भई जैनखेल बस्ने विशाल हाङ मुकारुङ राई र गोकर्णेश्वर घर भई ललितपुरको सानागाउँ बस्ने छेङ्वीहाङ राईविरुद्ध मुद्दा चलाइने जनाएको छ ।

यस्तै, घटनाको मुख्य प्रतिवादीलाई भगाउने एक जना फरारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजा घरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान भएको थियो ।

त्यस क्रममा घाइते भएका पाँचथरका पुजन राईको सुमेरु अस्पतालमा र रेवश राईको पाटन अस्पतालमा मृत्यु भएको थियो । घटनाको अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिएको र किटानी जाहेरीका आधारमा पाँच जनालाई कतव्र्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको खनालले बताए ।

घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनी यसअघि लागू औषध मुद्दामा दोषी ठहर भई दुई वर्ष जेल बसेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि थप आठ व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट