यसकारण बागमतीमा दोहोरिन सक्छ ‘कोशी’ घटना-Sutra News

यसकारण बागमतीमा दोहोरिन सक्छ ‘कोशी’ घटना

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । गत फागुन २३ मा नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको थियो ।



संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार कुनै दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । यदि विश्वासको मत नलिएको खण्डमा सरकार ढल्छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ । तर, एमाले २७, माओवादी २१ र एकीकृत समाजवादीका सात गरी नयाँ सत्ता गठबन्धनसँग जम्मा ५५ मत मात्रै छ ।

यस्तोमा सभामुखसहित १३ सांसद भएको राप्रपाले एमाले–माओवादी गठबन्धनलाई समर्थन नगर्ने बताइसकेको छ । गठबन्धनले तीन सांसद भएको नेपाल मजदुर किसान पार्टी र दुई सांसद भएको हाम्रो नेपाली पार्टीको साथ खोजेको छ । तर, तीन सांसद भएको नेमकिपा मौन बनेको छ भने दुई सांसद भएको हाम्रो पार्टीले सरकारकै नेतृत्व खोजेको छ ।

सरकार गठनदेखि नै जमरकट्टेल नेतृत्वको सरकारलाई समर्थन गरेको हाम्रो पार्टीले सोमबार मुख्यमन्त्रीमै दाबी गर्न सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यस्तोमा मुख्यमन्त्री जमरकट्टेलले बहुमत जुटाउन गाह्रो हुने देखिएको छ । अहिले जमरकट्टेल केन्द्रबाट सहयोग खोजिरहेका छन् ।

यदि जमरकट्टेलले चैत २२ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिन सकेनन् भने बागमतीमा नयाँ सरकार निर्माणको चरण सुरु हुन्छ । ३७ सांसद भएको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संवैधानिकरुपमै सरकार गठनको अवसर पाउने देखिन्छ । तर, बिडम्बना उसको पक्षमा पनि बहुमत जुटाउन सकस छ ।

कांग्रेसले राप्रपा, नेमकिपा र हाम्रो पार्टीसँग संवाद बढाएको छ । तर, तीन दलकै मत पाउँदा पनि कांग्रेसको पक्षमा जम्मा ५५ सांसदको मत जुट्छ । यस्तोमा फेरि कांग्रेस नेतृत्वको सरकार पनि ढल्ने अवस्था रहन्छ ।

कांग्रेस नेतृत्वको सरकारले पनि विश्वासको मत नपाउने अवस्था रहेमा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको अन्तिम विकल्पमा प्रदेश प्रवेश गर्दछ । उक्त विकल्पमा जुनसुकै दल वा सांसदले पनि बहुमतका लागि दाबी पेश गर्न सक्छन् । जुन परिस्थिति अहिले कोशीमा छ ।

कोशीमा तत्कालिन सत्ता गठबन्धनले माओवादी केन्द्र नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपनि कांग्रेसको इतर पक्षीय नेता केदार कार्कीले ८ सांसदसहित विद्रोह गर्दै एमालेको समर्थनमा सरकार बनाएका थिए । सत्ता समीकरण फेरिएपनि कोशीमा अहिले कार्की नेतृत्वकै सरकार छ । जसलाई कतिपय संविधान विद्हरु अन्तिम विकल्पका रुपमा पनि अथ्र्याउने गरेका छन् ।

अहिलेको बागमतीको घटना पनि कोशीकै अवस्थामा पुग्ने अनुमान धेरैको छ । जसमा कसको नेतृत्वमा सरकार बन्छ यकिनपूर्वक भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट