सत्ताको नेतृत्वकर्ता माओवादीलाई किन छुँदैन उपनिर्वाचनले ?-Sutra News

सत्ताको नेतृत्वकर्ता माओवादीलाई किन छुँदैन उपनिर्वाचनले ?

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । आगामी वैशाख १५ गते रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ रिक्त रहेको इलाम–२ र प्रदेशसभातर्फ रिक्त रहेको बझाङ–१(१) मा निर्वाचन हुँदैछ ।



सत्तारुढ नेकपा (एमाले)ले दुवै क्षेत्रका लागि उम्मेदवार चयन गरिसकेको छ । एमालेले इलाम–२ मा स्वर्गीय नेता सुवाचन्द्र नेम्वाङ्ग पुत्र सुहाङ नेम्वाङ्गलाई उम्मेदवार बनाएको छ भने बझाङ–१(१)मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले आइतबार सचिवालय बैठक डाकेर उम्मेदवारको टुंगो लगाएको थियो ।

सत्तारुढ एमालेले उम्मेवार टुंगो लगाउँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवार चयनको प्रक्रियालाई अघि बढाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार क्षेत्रीय समितिहरुले नाम पठाएका छन् । केही दिनमै पदाधिकारी बैठक बसेर नाम टुंग्याउने उनले बताए ।

यता, रास्वपाले प्रदेशसभातर्फ उम्मेदवार नदिने निर्णय गरिसकेको छ भने इलाम–२ को लागि उम्मेदवार चयनको प्रक्रियालाई भने तिव्ररुपमा अघि बढाएको छ । पार्टी प्रवक्ता डा. मुकुल ढकालका अनुसार चैत १६ गते नाम टुंगो लाग्नेछ । जसको प्रक्रिया सुरु भइसकेको उनले बताए ।

तर, यस्तोमा सत्ता नेतृत्वकर्ता माओवादी केन्द्रभित्र भने चुनावी सरगर्मी छाउन सकेको छैन । माओवादीलाई उपनिर्वाचनले छोएको देखिन्न ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा उपनिर्वाचनबारे सामान्य छलफल भएको भएपनि निर्णयमा नपुगिसकेको बताउँछन् ।

उपनिर्वाचनबारे छलफल भएको छ, आवश्यकताअनुसार निर्णय हुनसक्छ, तर, अहिले नै निष्कर्षमा पुगिसकेका छैनौं”, उनले भनेका छन् ।

माओवादी केन्द्र उपनिर्वाचन हुँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनभित्रबाटै साझा उम्मेदवार तय गरेर जाने पक्षमा थियो । माओवादीभित्र इलाम–२ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई उम्मेदवार बनाउने सन्दर्भमा पनि छलफल भएको थियो ।

तर, एमालेले एकल निर्णय गरेसँगै माओवादीभित्र अलमल देखिएको छ । माओवादी केन्द्र निर्वाचन लड्ने कि नलड्ने अन्योलमा देखिन्छ ।

माओवादीसँग छैन बलियो धरातल

प्रतिनिधिसभाअन्तर्गतको इलाम–२ मा गत निर्वाचनमा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई सघाएको थियो । तर, माओवादी केन्द्रले सघाए पनि कांग्रेस उम्मेदवार डम्मर खड्काले जित हात पार्न सकेनन् ।

प्रदेशसभाअन्तर्गतको बझाङ १(१)मा पनि माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई सघाएको थियो । जहाँ भने कांग्रेस उम्मेदवार विजयी भएका थिए ।

२०७९ मंसिरमा भएको निर्वाचनमा दुवै ठाउँमा आफ्ना उम्मेदवार नदिएको माओवादी केन्द्रलाई यसपटक उम्मेदवार दिएर जित्ने विषय सकस देखिन्छ । समानुपातिकतर्फको मत परिणामलाई हेर्दा पनि इलाम–२ र बझाङ १(१) मा माओवादी प्रतिस्पर्धी पार्टीको रुपमा देखिन्न ।

इलाम–२ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२ मत ल्याउँदा कांग्रेसले २२ हजार ३ सय ३३ मत पाएको थियो । जहाँ माओेवादीले ५ हजार एक सय ५३ मत मात्रै पाएको थियो ।

बझाङ १ को प्रदेशसभातर्फको समानुपातिकतर्फको कुल मतलाई हेर्दा एमालेले २२ हजार २ सय ४ मत पाउँदा कांग्रेसले १६ हजार ६४३ मत पाएको थियो । जहाँ माओवादी केन्द्रले मात्रै ७ हजार ९७५ मत पाएको थियो ।

यसअघिका उपनिर्वाचनमा पनि उठाएको थिएन उम्मेदवार

माओवादी केन्द्रले गत वैशाख १० मा भएको उपनिर्वाचनमा पनि उम्मेदवारी दिएको थिएन । प्रतिनिधिसभाअन्तर्गतको तनहुँ–१, चितवन–२ र बारा–२ मा माओवादी केन्द्रले तत्कालिन सत्ता गठबन्धनका अन्य दललाई सघाएको थियो ।

तनहुँ–१ र चितवन–२ मा कांग्रेस उम्मेदवारलाई सघाएको थियो भने बारा–२ मा जसपा उम्मेदवारलाई सघाएको थियो । तर, माओवादीले सघाउँदा पनि बारा–२ बाहेकमा अन्य उम्मेदवारले जित हात पार्न सकेका थिएनन् ।

वैशाख १० मा भएको उपनिर्वाचनले पनि माओवादीको मत कमजोर बन्दै गइरहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट