‘मेयर’को छायांकन सेटमा हजारौँकाे उपस्थिति भएपछि…-Sutra News

‘मेयर’को छायांकन सेटमा हजारौँकाे उपस्थिति भएपछि…

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडाैं । निर्देशक दीपेन्द्र के. खनाल आगामी आफ्नो नयाँ फिल्म ‘मेयर’को छायांकन यति बेला सर्लाही जिल्लाको बागमती नगरपालिका सहित विभिन्न स्थानहरूमा गरिरहेका छन् ।



फागुन १० गतेदेखि सुरु भएको फिल्म ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने मेयरको भूमिकामा देखिँदै छन्। सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन सङ्घर्षमा आधारित भएर यो फिल्म बन्न लागेको हो ।

तर, फिल्म बायोपिक नभएको निर्देशक खनालको दाबी छ। उनका अनुसार फिल्म केही राम्रो काम गरेर छाड्छु भन्ने सङ्कल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र विविध अवरोधकाबीच कसरी समाजलाई राम्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने कथामा बन्ने बताइएको छ।

यो फिल्ममा केही राजनीतिक कथा समेटिएको छ। सो घटनाक्रम सम्बन्धितका केही ठूलो आमसभा जस्ता दृश्यको छायांकन गरिएको छ । हुन त, राजनीतिक विषयमा फिल्म बनाउँदा हजारौँ दर्शकको मानिसको आवश्यक पर्छ। फिल्ममा भेला, र्‍याली, आमसभा, झडपजस्ता दृश्य खिच्न हजारौँको भीड देखाउनुपर्छ । यस्ता, दृश्य खिच्दा नेपाली फिल्म मेकरले चुनौती मानेर मानिसको भीड देखाउन नसकेर, त्यस्ता दृश्यमा ‘भिएफएक्स’को सहारा लिन्छन् । हजारौँको भीड देखाउनु परेसँगै बजेट पनि ठूलै लाग्ने हुन्छ । त्यो जुटाउन नसकेर यस्ता दृश्यमा हलिउड, बलिउडदेखि नेपाली मेकरले आमसभाजस्ता दृश्य प्रायः ‘भिएफएक्स’को सहारा लिइन्छ ।

यसैले त, क्यानभास ठूलो हुने भएकाले राजनीतिक विषयमा फिल्म बनाउनु चुनौतीपूर्ण मानिन्छ । तर, निर्देशक खनालले फिल्म ‘मेयर’का लागि लगभग हरेक दृश्यमा मानिसको भीड ओरालिरहेका छन् । यस फिल्मको आमसभाको क्लाइमेक्स दृश्य खिच्नका लागि सेट तयार पारिएको छ । यस सेटमा ११ हजार मानिसहरूको भीड देखिएको छ । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका तस्बिरमा हजारौँ दर्शकको उपस्थित देखिन्छ ।

खनालले अभिनेता लामिछानेसहित हजारौँ मानिसहरूको भिड देखिएको तस्बिरहरू शेयर गर्दै लेखेका छन्, ‘यो कुनै पार्टीको आमसभा होइन, यो त ‘मेयर’ फिल्म छायांकनको लागि आउनु भएको ११ हजार माया हो । नेपाली फिल्म निर्माणमा एउटा महत्त्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिम बाट हार्दिक आभार व्यक्त गर्दछु।’

फिल्मको सेटबाट उपलब्ध तस्बिरमा अभिनेता खगेन्द्र लामिछाने मञ्चमा भाषण गरिरहेको अवस्थामा देखिएका छन् भने मानिसको भीडमा अभिनेत्री वर्षा राउतलाई देख्न सकिन्छ । यसरी फिल्म निर्माणमा दर्शकबाट यति धेर माया पाउनु आफैमा खुसीको कुरा हो । यसले दर्शकहरू मेयरकोलागि उत्सुक छन् भन्ने कुरा प्रमाणित गर्छ ।

यसरी हजारौँ मानिसहरू जम्मा हुनुमा मेयर थापा र फिल्मप्रति सर्लाहीवासीको प्रेम रहेको निर्देशक खनाल बत्ताउँछन् । उनी भन्छन्, ‘यो फिल्मप्रति सर्लाहीवासीको प्रेम हो । आफ्नो व्यवसाय बन्द गरेर उहाँहरू सुटिङमा सहभागी हुनुभएको थियो । यो भरत थापाप्रतिको विश्वास पनि हो । किनकि, फिल्मै उहाँमाथि बनेको छ । हामीले क्यामेरा मात्र लिएर गएको भए त्यो भीड जुटाउन असम्भव थियो ।’

मेयर थापा गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए।

पटकथा प्रडक्शनको ब्यानरमा बन्न लागेको फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहेको छ । फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्य देव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।

यो फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दै छिन् । यता, फिल्ममा अभिनेत्री वर्षाले दुई कालखण्डको चरित्र निर्वाह गर्नुपर्नेछ । जसअनुसार, उनी फिल्ममा मेयरकी प्रेमीका र श्रीमतीको भूमिकामा देखिने छिन् । शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट