सहकार्यकाे अपेक्षा गरिएका रवि-गगनबीच नै पेचिलाे लडाइँ-Sutra News

सहकार्यकाे अपेक्षा गरिएका रवि-गगनबीच नै पेचिलाे लडाइँ

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडाैं । पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हठात् गठबन्धन परिवर्तन गरेपछि प्रमुख प्रतिपक्षी दलमा धकेलिएको नेपाली कांग्रेसले संसदमा लगातार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएकोमा संसदीय छानबिन समिति बनाउनुपर्ने बटमलाइन बनाएको छ । यो अभियानको नेतृत्व यतिबेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्हालिरहेका छन् ।



संघीय संसदको बैठकमै महामन्त्री थापाले पोखराको सूर्यदर्शन सहकारीमा सय जना मान्छेले नक्कली खाता खोलेर एक अर्ब ३५ करोड बचत रकम हिनामिना गरेको सुनाउँदै यसमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको दाबी गर्दै ग्यालेक्सी फोरकेको सञ्चालक हुँदा लामिछानेसमेतको संलग्नतामा उक्त रकम अपचलन भएको आरोप लगाएका छन् । आफूमाथि संसदमै प्रमुख प्रतिपक्षी दलका महामन्त्री थापाले लगाएको आरोपको प्रतिवाद गर्दै गृहमन्त्री लामिछानेले प्रहरीमा परेको ठाडो उजुरीकै आधारमा संसद अवरोध गर्ने अभ्यास सिकाउन खोजेको भन्दै नेपाली कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेको टिप्पणी गरेका छन् ।

एमाले-माओवादी-रास्वपा सम्मिलित सत्ता गठबन्धन बनेकै दिनदेखि लामिछाने-थापा प्रत्यक्षरूपमै आमने-सामने बनेका हुन् । अझ विवाद अगाडि बढ्दै जाँदा शनिबार गृहमन्त्री लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल तथा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायतका नेताहरूलाई समेत साथ राखेर कांग्रेस महामन्त्री थापाकै निर्वाचन क्षेत्रमा सार्वजनिक कार्यक्रम नै राखेर आफूमाथि लागेका आरोपको जवाफ दिन तयार भएको भन्दै सार्वजनिक बहसको चुनौती नै दिए ।

अघिल्लो वर्षको आम निर्वाचनमा प्रतिनिधिसभाका काठमाडौंका १० मध्ये ९ क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले काठमाडौं ४ मा मात्रै उम्मेदवारी दिएको थिएन, जहाँ नेपाली कांग्रेसका महामन्त्री थापा उम्मेदवार थिए । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रमा जित निकालेको रास्वपाले काठमाडौंबाट अरु दलभन्दा पनि बढी समानुपातिक मत प्राप्त गर्दा र थापाविरुद्ध तय भएका उम्मेदवारको उम्मेदवारीसमेत फिर्ता लिएपछि लामिछाने-थापा भित्रभित्रै सहकार्य गरेको आरोप कांग्रेस संस्थापन समूह तथा तत्कालीन गठबन्धनमै रहेको दल माओवादी केन्द्रले समेत लगाएकाे थियाे ।

चुनावकाे समयमा कांग्रेस महामन्त्री थापाकाे भूमिका रहेको आशंका सार्वजनिकरूपमै व्यक्त गरेको थियो भने कांग्रेस नेताहरूले नै थापालाई ‘घण्टी कांग्रेस’ भनेर सामाजिक सञ्जालबाटै व्यंग्य गरेका थिए ।

तर, समय र परिस्थिति सधैँ एउटै कहाँ हुन्छ र ? गएको वैशाख १० गते तनहुँमा भएको उपनिर्वाचनमा कांग्रेस महामन्त्री थापाका कोर टिमका सदस्य मानिने अर्थशास्त्री वाग्लेलाई रास्वपा प्रवेश गराएर कांग्रेसकै विरुद्व उम्मेदवार उठाएपछि लामिछाने-थापा तिक्तता बढेको जानकारहरू बताउँछन् । तनहुँमा भएकाे उप-निर्वाचनको चुनावी कमान्डर रहेका थापाले आफ्नै कोर टिमका सदस्य वाग्लेविरुद्ध पहिलोपटक सार्वजनिक भाषण गर्न बाध्य बनेका थिए । त्यसपछि नै लामिछाने-थापा सम्बन्धमा हार्दिकता नरहेको तथा आफूलाई टिकट दिलाउन थापाले यथेष्ट सहयोग नगरेको वाग्लेले आरोप लगाउँदै आएका छन् ।

थापासँग लामिछाने र वाग्लेको सम्बन्ध सुमधुर बन्न सकेको छैन भने लामिछाने निर्वाचित उप-निर्वाचनमा कांग्रेसको चुनावी कमान्डर रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि लामिछानेविरुद्ध आक्रमक भाषण गरेपछि थप अर्काे सम्बन्धमा दरार देखिन्छ ।

थापाले लामिछानेलाई सहकारी ठगीको आरोप लगाएको प्रति उत्तरमा लामिछानेले पनि शनिबार खसी बाख्राको प्रसङ्ग झिक्दै उछितो काढ्न कुनै कसुर छोडेनन् । ‘मिसन ८४’ अभियानमै रहेर अहिले सत्तामा उपप्रधानसहित गृहमन्त्रीको भूमिकामा रहेका लामिछाने यतिबेला चौथो ठूलो दलको सभापति भएपनि आगामी निर्वाचनबाट पहिलो दलमा स्थापित बनाउने अभियानमा छन् भने अहिले पहिलो संसदीय दलको महामन्त्री रहेका थापा २०८४ को आम निर्वाचन अगावै हुने कांग्रेस महाधिवेशनबाट कांग्रेस सभापति बनेर कांग्रेसलाई पहिलो पार्टी कायम राख्दै गुमेको सत्ता आफ्नै बलबुतामा फिर्ता ल्याउने अभियानमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको दुइ तिहाइ बहुमत रहेको ठानिएको कांग्रेस महासमिति बैठकबाट आगामी निर्वाचनमा निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी अन्त्य गर्ने आफ्नो महत्वाकांक्षी प्रतिवेदन पास गरेर आगामी महाधिवेशनबाट पार्टीको पहिलो पदमा पुग्ने प्रयासमा लागेका छन् ।

नेपाली कांग्रेसभित्र र बाहिर समेत आशालाग्दो नेताका रूपमा हेरिएका थापालाई यतिबेला लामिछाने-वाग्लेले चुनौती दिँदै लोकप्रियताको शिखरमा अघि बढेपछि थापा दबाबमा परेर पनि लामिछानेविरुद्ध आक्रमक बन्दै गएको जानकारहरू बताउँछन् । २०७९ मा जिताउन आफ्नो सबथोक सुम्पिन तयार भएका वाग्ले २०८४ को निर्वाचनमा स्वयम् थापालाइ हराउन हिँड्ने परिस्थिति सिर्जना भएपछि पनि विवाद अझै सघन बनेको बुझ्न कठिन छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट