समाजवादी मोर्चामा आबद्ध हुन ओली किन तयार भएनन् ?-Sutra News

समाजवादी मोर्चामा आबद्ध हुन ओली किन तयार भएनन् ?

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । समाजवादी मोर्चाको संयोजक बनेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बाम घटकका दलहरुलाई समेट्ने प्रयासमा जुटे । उनले विशेषगरी एमालेलाई उक्त मोर्चामा ल्याउन प्रर्यत्न गरे ।



सत्ता गठबन्धन परिवर्तनसँगै उत्साहित विप्लवले योबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भेटवार्ता गरेका छन् । पछिल्लो पटक विप्लवले बिहीबार साँझ मात्रै ओली निवासमै पुगेर छलफल गरेका थिए । झण्डै दुई घण्टा लामो छलफल सकारात्मक भएको बताइएको थियो ।

“समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रीत भयो, मोर्चामा एमालेलाई पनि समेट्ने गरी पहल थालेका छौं”, बालकोट भेटवार्तापछि विप्लवले भनेका थिए ।

विप्लवले भेटवार्ता निकै सकारात्मक भएको भन्दै स्वयम् ओली पनि मोर्चाप्रति सकारात्मक रहेको बताएका थिए । उनले एमाले समेटिएपछि नै मोर्चाको कार्यक्रम तय हुने बताएका थिए ।

ओली–विप्लव भेटवार्तापछि शुक्रबार मोर्चाको बैठक बस्यो । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेलाई कसरी समेट्ने भन्ने कोणबाट छलफल भयो । जुन बैठकले एमालेसँग माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छलफल गरेर टुंग्याउने निर्णय गरेको थियो ।

मोर्चाकै निर्णयपश्चात प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष ओलीसँग संवाद गरे । तर, घण्टौ लामो संवाद पनि सकारात्मक बन्न सकेन । एमाले अध्यक्ष ओली तत्काल समाजवादी मोर्चामा सहभागि हुन असहमत देखिएका छन् ।

भेटवार्तापछि एमाले समाजवादी मोर्चामा सहभागि हुन लागेको हो भन्ने प्रश्नमा उनले “होइन” भन्ने प्रतिक्रिया दिएका छन् । ओलीको प्रतिक्रियालाई हेर्दा संवाद सकारात्मक नभएको बुझ्न सकिन्छ ।

यद्यपि, अध्यक्ष ओलीले आइतबारका लागि पार्टी सचिवालय र विभागिय प्रमुखहरुको बैठक बोलाएका छन् । जुन बैठकमा समाजवादी मोर्चाको तर्फबाट गरिएको प्रस्तावमाथि छलफल गरी निर्णय लिने तयारी रहेको बताइएकाे छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट