‘डिग्री माइला’को ट्रेलर: अहंकारी र गफाडी पात्रको कथा-Sutra News

‘डिग्री माइला’को ट्रेलर: अहंकारी र गफाडी पात्रको कथा

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडाैं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को ट्रेलर सार्वजनिक गरिएको छ ।



शुक्रबार बाँसुरी फिल्म्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा डिग्री पास गरेको एक युवकले गाउँ पसेपछि देखाउने घमन्ड र गफको कथा समावेश गरिएको छ ।

‘डिग्री माइला’ चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । एमए पास गरेर गाउँ फर्किएको माइला पात्रको अहंकार र त्यसले उत्पन्न परिस्थितिलाई देखाइएको छ । जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर उसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

ट्रेलरमा समावेश संवादमा भने दर्शकको ध्यान बढी जान सक्छ । डिग्री माइला चरित्रमार्फत मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो ।

यो फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको छ । फिल्ममा दयाहाङसँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सले फिल्म निर्माणका लागि सुस्मा फिल्म्ससँग सहकार्य गरेको छ। शिवराम श्रेष्ठ र राइली एच शेनले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यस्तै, फिल्ममा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।

यो फिल्म २०८१ को नयाँ वर्षमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट