सन्तोष सेनको ‘बलिदान’मा समिर भट्ट-Sutra News

सन्तोष सेनको ‘बलिदान’मा समिर भट्ट

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं ।  फिल्म ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन्। निर्माणाधीन अवस्थामा रहेको यस फिल्मको निर्माण कम्पनी आसुसेन फिल्मस्ले भट्टको फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको प्रमुख भूमिका रहने जनाकारी गराएको छ ।



समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । ‘बलिदान’मा लामो समयदेखि अभिनेताको खोजीमा रहेका निर्देशक तथा निर्माता सन्तोष सेनले अन्ततः बलिदानका लागि मुख्य कलाकार फाइनल गरेका छन् । निर्माणपक्षले समीर फाइनल भएसँगै नयाँ तीन वटा पोस्टर समेत सार्वजनिक गरेको छ ।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए ।

‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्’, पात्र छनोटको सङ्घर्ष सम्झँदै निर्देशक सेनले बताए, ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो। बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुर्ण कलाकार चाहिने थियो।’

‘एउटा भनाई छ, ‘दैवले तिमीले चिताउनु, म पुर्‍याउँछु भन्छ।’ काम प्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ। निकै दिनपछि हामीले भेट्टायौँ, हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट’, सेन भन्छन्, ‘उनी दसौँ वर्षदेखि मुम्बईमा गुपचुप रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वका धेरै कक्षा र कार्यशालासँगै ठुलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे उनले गरेको यो सङ्घर्ष, मेहनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ।’

त्यसो त आसुसेन फिल्मस्ले हरेक फिल्ममा नयाँ प्रतिभा खोजेर नेपाली फिल्ममा देखिने अभाव पूर्ति गर्ने गरेको छ । आसुसेनका अध्यक्ष समेत रहेका निर्देशक सेन भन्छन्, ‘एकलव्यजस्ता समीर बलिदानका युग पुरुष त बन्ने नै भए, अब नेपाली फिल्म जगतमा स्थापित हुनेछन् भन्ने कुरामा दुई मत छैन।’

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन् । यो फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

यो फिल्ममा मुख्य खलनायकको रुपमा सौगात मल्ल र अर्पण थापा फाइनल भइसकेका छन् । फिल्ममा मुख्य नायक फाइनल भएपछि अब वैशाखको दोस्रो साताबाट छायांकन सुरु गर्ने निर्माणपक्षले बताएको छ ।

आसुसेन फिल्मस् प्राली तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी रहेका छन्। यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट