भारतीय फिल्मका सबैभन्दा महँगा खलनायक ‘यश’-Sutra News

भारतीय फिल्मका सबैभन्दा महँगा खलनायक ‘यश’

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । केजीएफ फेम स्टार फिल्म ‘टक्सिक’ चर्चामा छ । यो फिल्म आगामी अप्रिलमा रिलिज हुँदै छ । यस्तो अवस्थामा अब यो फिल्मको बारेमा नयाँ अपडेट आएको छ । ‘टक्सिक’ मा यशको अपोजिटमा करिना कपूर देखिने छिन् । यस कुराको पुष्टी स्वयम् करिना कपुरले गरेकी छिन् ।



करिना कपुरले हालै जुमसँग अन्तरक्रिया गरेकी छिन् । उनले आफू ठूलो बजेटको साउथ फिल्ममा देखिने बताइन् । यो प्यान इन्डिया फिल्म हुनेछ । कुराकानीको क्रममा करिना कपुरले भनिन्, ‘अहिले मैले भनेझैँ म साउथको ठूलो फिल्म काम गर्न जाँदै छु । यो प्यान इन्डिया फिल्म हुने भएकाले यसको छायांकन कहाँ हुनेछ ? भन्ने मलाई थाहा छैन । तर, म पहिलो पटक यस्तो प्रोजेक्टमा आबद्ध छु।’

करीना कपुरले फिल्मको नाम भने खुलाएनन् तर, उनले यसरी साउथको ठूलो फिल्मको कुरा गर्दा सीधै ‘टक्सिक’ तर्फ औँल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फ्यानहरूले यो भिडियो देख्ने बित्तिकै करिनाले यश स्टारर ‘टक्सिक’ फिल्मको बारेमा कुरा गरिरहेकी हुन् भन्ने अनुमान गर्न थालेका छन्।

दंगल, छिछोरे जस्ता हिट फिल्म बनाएका निर्देशक नितेश तिवारीले निर्देशन गर्न लागेको फिल्म ‘टक्सिक’ गोवाको पृष्ठभूमिमा आधारित हुनेछ । ‘केजीएफ’ जस्तै यो पनि पिरियड क्राइम ड्रामा हुनेछ। ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ थियो । यशको क्यारेक्टरले त्यहाँको रुसी वर्चस्वलाई कसरी चुनौती दिनेछन्, फिल्मको कथा यसैको वरिपरि रहेको जनाइएको छ ।

केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैँ पनि निर्माता हुन् । यो पनि १०० करोडभन्दा माथिको बजेटमा समेटिएको छ । यशलाई फिल्मको कथानक यति धेरै मन परेको छ कि उनले अन्य प्रोजेक्टलाई छेउमा राखेर अहिले आफ्नो सम्पूर्ण ध्यान यसैमा केन्द्रित गरेका छन् । ड्रग्स र रुसी माफियाको साथमा हिप्पी संस्कृति जे थियो, त्यो सबै फिल्ममा देखाइने छ। यस विषयमा निर्माताहरूबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा आएको छैन।

यता, विशेष कुरा के छ भने- दक्षिण भारतीय स्टार यश अब खलनायक बन्ने भएका छन् । उनी रणवीर कपुर, साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा रावणको भूमिकामा देखिनेछन् । यशले यो भूमिकाका लागि १५० करोड भारु पाएका छन् । यो हिन्दी फिल्म इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो ।

मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन् । यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रूपमा ‘रामायण’लाई रोजेका छन् । बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने अहिलेसम्म यस्तो भएको छैन ।

इतिहासमा शीर्ष खलनायक प्राणले एक फिल्मका लागि ६ सय रुपैयाँ पाएका थिए । रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन् । विजय सेतुपतिले सन् २०२३ को ब्लकबस्टर फिल्म ‘जवान’ भिलेन कालीको भूमिकामा देखिएका थिए। जसको लागि उनले २१ करोड भारु पारिश्रमिक लिएको बताइन्छ।

२०१८ मा रिलिज भएको फिल्म ‘पद्मावत’मा रणवीर सिंहले नायकको सट्टा खलनायकको भूमिका रोजेका थिए। जसका लागि उनले १३ करोड पारिश्रमिक लिएका थिए। सञ्जय लीला भन्सालीले निर्देशन गरेको यस फिल्ममा रणवीरले अलाउद्दीन खिलजीको भूमिका निभाएका थिए ।

सन् २०२३ मा रिलिज भएको फिल्म ‘आदिपुरुष’ मा सैफअलीखानले रावणको पात्रमा देखिएका थिए। जसको लागि उनले १० करोड भारु पारिश्रमिक लिएका थिए। यता, अर्का चर्चित अभिनेता इमरान हाशमीले पनि हिरोसँगै भिलेनको चरित्रमा देखिसकेका छन्। गत वर्ष ‘टाइगर ३’ मा देखिएका उनले १० करोड रुपैयाँ भारु पाएका थिए।

यस्तै, ‘केजीएफ २’ मा भिलेन बन्नको लागि सञ्जय दत्तले पनि ८-९ करोड भारु पारिश्रमिक लिएका थिए। उनी यस फिल्ममा अधीराको भूमिकामा छन्। फिल्म ‘एनिमल’मा बबी देओल मुख्य खलनायक बनेका थिए। फिल्ममा अबरारको भूमिकामा देखिएका उनलाई निकै रुचाइएको थियो। यो भूमिकाका लागि उनलाई ४.५ करोड रुपैयाँ भारु पारिश्रमिक दिइएको थियो, जुन उनले यसअघि कुनै पनि फिल्मका लागि पाएका थिएनन् ।

यशको यसअघि ‘केजीएफ २’ मा देखिएका थिए । प्रशान्त नीलले निर्देशन गरेको यो फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । यशले डेढ वर्षपछि आफ्नो नयाँ फिल्म ‘टक्सिक’ घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट