‘महाजात्रा’लाई देशभर उच्च शोज, कस्तो गर्ला ओपनिङ ?-Sutra News

‘महाजात्रा’लाई देशभर उच्च शोज, कस्तो गर्ला ओपनिङ ?

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका हलले उच्च शोज दिएका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले मंगलबार गरिएको प्रिमियरमा प्रशंसा बटुलेको छ ।



प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’को प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भनेका छन् । प्रिमियरमा पुगेका अधिकांशले यसको कथावस्तु, कमेडी संवाद र कलाकारको अभिनयको तारिफ गरेका थिए ।

प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका फिल्महलले उच्च शो दिएका हुन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले उच्च ओपनिङ गर्ने अनुमान गरिएको छ । जसकाकारण, यो फिल्मले शुक्रबार र शनिबार बिष्फोटक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ६९ शो दिएको छ । यस्तै, काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ५ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजले ९ शो, गोंगबुमा रहेको बिएसआर मुभिजले ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफले ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबले ७ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजले ८ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्सले ९ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्सले ५ शो, सितापाइलामा रहेको सिने सिनेमाजले ७ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ५ शो, बानेश्वरमा रहेको वान सिनेमाजले ९ शो र कालिमाटीमा ७ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्सेले ५ शो, बानेश्वरमा रहेको आइएनआईले ५ शो र बुटवलमा रहेको आइएनआइले ५ शो दिएको छ ।

देशभर प्राप्त शो आफूहरू माथिको विश्वास रहेको निर्देशक भट्टराईले बताए । उनले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । यस पटक हामीले मनोरञ्जनसँगै दर्शकलाई नेशनल इस्युलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने । प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट