प्यूठानमा नेपाल टेलिकमको सेवा विस्तार तीव्र-Sutra News

प्यूठानमा नेपाल टेलिकमको सेवा विस्तार तीव्र

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकामा नेपाल टेलिकमको फाइबर नेट सेवा विस्तार हुने भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको एफटीएचएच सेवाको भर्चुअल रुपमा उद्घाटन गरेकी हुन् ।



उद्घाटनमा प्रमुख अतिथि मन्त्री शर्माले गुणस्तरीय सेवाका निम्ति नेपाल टेलिकम लाग्नु पर्ने बताएकी थिइन् । उनले टेलिकमको सेवा नपुगेको ठाउँमा विस्तारमा लाग्नु पर्ने बताइन् ।

यो वर्षमा हुम्लाबाहेक सबै जिल्लामा सेवा पुग्ने उनको भनाइ थियो । “सबै स्थानीय तहसँग समन्वय गरेर योजना बनाएर काम भइरहेको छ,” मन्त्री शर्माले भनिन्, “पालिका हुँदै वडासम्म पुर्‍याउन सके जनताको सेवा र टेलिकमको अर्जनसमेत बढ्ने छ ।”

नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाउन लागेका बताउँदै त्यसका लागि टेलिकमले सहयोग गर्नु पर्ने मन्त्री शर्माको भनाइ थियो । उनले दूर दराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा सरकार लागि परेको बताइन् ।

प्यूठानको प्यूठान र स्वर्गद्वारी नगरपालिकासँगै मल्लरानी, माण्डवी र झिमरुक गाउँपालिकामा सेवा पुगेको छ । ऐरावती, सरुमारानी र नौबहिनि गाउँपालिकामा सेवा प्रवाहका लागि सर्भे भइसकेको छ । गौमुखी गाउँपालिकामा सर्भे गर्ने तयारी रहेको टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताए ।

उनले जिल्लामा चार हजार ६०८ जनालाई सेवा दिन पुग्ने गरी फाइबर नेट उपलब्ध रहेको बताए । हाल एक हजार ६१८ जनालाई सेवा प्रवाह गरिएको छ । कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनिता पहाडीले टेलिकमले आफ्नो सेवा विस्तार गर्न सक्रिय रुपमा काम गर्दै आएको बताइन् ।

झिमरुकका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सूचना प्रविधिको युगमा उच्च स्तरको सेवा सुरु भएको भन्दै खुशी व्यक्त गरे । उनले पालिकाभित्र सबैले सुविधा लिने गरी सेवा विस्तार गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट