इलाम–२ उपनिर्वाचन – सुवासका छोरादेखि उनैसँगै पराजित नेतासम्म भिड्ने मुडमा-Sutra News

इलाम–२ उपनिर्वाचन – सुवासका छोरादेखि उनैसँगै पराजित नेतासम्म भिड्ने मुडमा

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ रिक्त छ । उक्त क्षेत्रबाट निर्वाचनमा विजयी भएका पूर्वसभामुख तथा नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उक्त क्षेत्र रिक्त बन्न पुगेको हो ।



निर्वाचन आयोगका अनुसार कुनै निर्वाचन क्षेत्र एक वर्षभन्दा लामो समयसम्म रिक्त हुने अवस्था आएमा उपनिर्वाचन गरी पदपूर्ति गर्ने व्यवस्था छ । जसका कारण इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने गरी आयोगले तयारी गरेको छ ।

निर्वाचन आयोगको तयारीसँगै दलहरूले पनि आ–आफ्नो तवरबाट तयारी थालेको छ । जसका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो उम्मेदवारका लागि नाम सिफारिस गरेका छन् ।

एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । एमालेले सिफारिस गरेको नाममा स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङसमेत रहेका छन् । यसबाहेक एमाले नेता बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलालको नामसमेत समावेश भएको छ ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार आकांक्षीमध्ये ६ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

यता, नेपाली कांग्रेसको क्षेत्रीय समितिले सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको इलाम २ क्षेत्रीय कार्य समिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सात जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेसबाट सिफारिस भएकाहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् ।

उक्त नामलाई भोलि रायसहित प्रदेश कार्य समितिमा पठाएर चैत्र १० गते आकांक्षी उम्मेदवारहरूको नाम केन्द्रमा पठाउने तयारी गरेको छ । सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले स्वर्गीय नेता नेम्वाङसँगै पराजित भएका थिए ।

यस्तै, खड्का २०७९ सालको आम निर्वाचनमा नेम्वाङसँगै पराजित भएका थिए । केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन् ।

एमालेले जितेको क्षेत्र भएकाले गठबन्धन दलले पनि एमालेलाई साथ दिने अनुमान गरिएको छ । तर, यसअघिको उपनिर्वाचनमा एक्लै चुनावमा होमिएर तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा विजयी भएका गठबन्धनभित्रैकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले के गर्छ ? हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट