रवीन्द्र झा भन्छन्- फिल्मकर्मीहरुकै गल्तीले तराईवासीले नेपाली फिल्म हेर्दैनन् -Sutra News

रवीन्द्र झा भन्छन्- फिल्मकर्मीहरुकै गल्तीले तराईवासीले नेपाली फिल्म हेर्दैनन् 

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौँ । पछिल्लो समय विशेषगरी तराई क्षेत्रमा दर्शकको दिन प्रतिदिन नेपाली फिल्मप्रतिको रुचि घटेको देखिन्छ । यस्तैमा, कलाकार रवीन्द्र झाले तराईवासीले नेपाली फिल्म नहेर्नुमा फिल्मकर्मीहरुकै गल्ती रहेको बताएका छन् ।



फिल्म महाजात्राले सोमबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रममा कलाकार झाले फिल्मकर्मीको गल्तीले तराई क्षेत्रमा नेपाली फिल्मविहीन बन्दै गएको र नेपाली फिल्म चलायो भने चल्ने बताए ।

फिल्मकर्मीले नै नेपाली फिल्मबाट तराईवासीलाई बञ्चित गराएको बताउँदै झाले भने, ‘फिल्म चल्दैन भने पनि एक दुई दिन झुन्ड्याइदिनुस् न । पक्कै दुई जान त आउँछन् । त्यसले बानी पार्छ, त्यो दुई जनाले चार जनालाई फिल्म राम्रो छ भन्छन् । ती चार जनाले प्रत्येक चार-चार गर्दा १६ हुन्छ । फिल्म नचलाउने चल्दैन भन्न मिल्छ ?’

तराईवासीका जनतालाई नेपाली फिल्म नदेखाइएको आरोप उनले अगाडि भन्छन्, ‘नेपाली फिल्ममा तराइको उपस्थिति नहुनुले पनि फिल्म नचलेको बुझाई राखिएको छ । अब तराईमा पनि फिल्म चलाउन आग्रह गर्छु । फिल्म चल्दैन भन्ने प्रवृत्तिलाई हटाएर हल हलमा नेपाली फिल्म प्रदर्शन गरिनु पर्छ । पहिले तराईमा एक दुई वटा फिल्म आउँथ्यो । मलाई ती दिन अहिले पनि याद छ । नेपाली फिल्म हेर्न मारामार हुन्थ्यो, अहिले फिल्म हरायो । अनि कसरी चल्छ त । जसरी कुनै पनि नयाँ प्रोडक्ट आउँदा फ्रीमा बाँडेर र विभिन्न स्किम चलाएर बानी पारिन्छ । त्यसरी बानी पार्न पनि सकिन्छ ।’

अभिनेता झाले उक्त कार्यक्रममा आफूलाई सबै खालको पात्रमा काम गर्ने चाहना हुँदाहुँदै पनि सधैँ कमेडी रोल मात्र मिलेकोमा गुनासो पोखेका छन् ।

‘मैले भिलेनदेखि विभिन्न पात्रमा आफूलाई प्रस्तुत गरेको छु । तर, जात्राले दिएको पहिचानलाई अन्य मेकर्सले निरन्तरता दिन खोज्नु भो । मैले अभिनयलाई निरन्तरता दिनु थियो । दर्शकले पनि स्वीकार गरिरहनु भएकाले त्यसलाई फरक रूप दिन खोजेर देखिँदा केहीमा टाइप कास्ट देखिएँ’, झाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट