निसीखोला बस दुर्घटना- नौ जनाको मृत्यु हुँदा २८ जना घाइते, अधिकांश पूर्वी रूकुमका-Sutra News

निसीखोला बस दुर्घटना- नौ जनाको मृत्यु हुँदा २८ जना घाइते, अधिकांश पूर्वी रूकुमका

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०
दुर्घटनाग्रस्त बस गलकोट(बागलुङ), ५ चैत : रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं को आज साझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको दुर्घटनाग्रस्त बस । तस्बिर सौजन्य : नेपाल प्रहरी/रासस

बागलुङ । जिल्लामा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । पूर्वी रुकुमबाट काठमाडौंतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।



दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिम रुकुम मुसिकोट १ का २७ वर्षीया बिनिता केसी, रुकु मपश्चिम मुसिकोट नगरपालिका २ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका ४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका ३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले बताए ।

बस सडकबाट १५० मिटर तल खसेको थियो । सात जनाको घटना स्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनको भनाइ थियो ।

दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन् । घटना स्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति रुकुम पठाएको उनले बताए । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।

बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो । दुर्घटनामा अधिकांश रुकुम पश्चिममा यात्रु घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट