लिङ्देनले कारबाही गरेका नेताहरुले भने– हामीमाथि पूर्वाग्रह साँधियो, अन्याय गरियो-Sutra News

लिङ्देनले कारबाही गरेका नेताहरुले भने– हामीमाथि पूर्वाग्रह साँधियो, अन्याय गरियो

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यालयमा भएको कुटपिटको घटनामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको कारकाही पूर्वाग्रही र एकतर्फी भएको भन्दै कारबाहीमा परेका नेताहरुले आपत्ति जनाएका छन् । सोमबार संयुक्त अपिल पत्र सार्वजनिक गर्दै कारबाहीमा परेका राप्रपाका सहायक महामन्त्री प्रेम बलायर, क्षेत्रीय अध्यक्ष रिद्धि प्रताप जबरा र युवा नेता निराजन बमले आपत्ति जनाएका हुन् ।



घटनामा आफूहरु दोषी नहुँदा नहुँदै पनि पार्टी अध्यक्षले पूर्वाग्रहीरुपमा आफूहरुलाई कारबाही गरेको नेताहरुको आरोप छ ।

“बैठक चलिरहँदा हामी अफिस पुगेका हौं र त्यहाँ अनियन्त्रित भिडले हाम्रो नेतामाथि धकेला–धकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन, तसर्थ हामी भीडलाई पन्छाउन गएका हौं”, जारी अपिल पत्रमा भनिएको छ, “तर, एउटा भिडियोलाई लिएर हामीमाथि नै घटनामा संलग्न भनी जुन झुठो आरोप लगाइयो, त्यसको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । घटनामा हाम्रो कुनै संलग्नता छैन, यही नै सत्य हो ।”

घटनालाई लिएर पार्टी अनुशासन समितिले स्पष्टीकरण सोधेको र सोसम्बन्धमा पनि जवाफ दिएको भएपनि जवाफबारे कुनै सुनुवाई नगरी अचानक पार्टी अध्यक्षबाट निलम्बनको निर्णय हुनु आश्चर्यको विषय बनेको नेताहरुको भनाई छ ।

पार्टी अध्यक्ष लिङ्देनले पार्टी मनामौजी चलाइरहेको र निष्ठापूर्वक लाग्नेमाथि कारबाही गरिरहेको आरोप नेताहरुको छ ।

यद्यपि, उक्त कुटपिटको घटनाको विषय अहिले न्यायीक निकायसम्म पुगेको छ । कुटपिटमा परेका नेता ठाकुरमोहन श्रेष्ठले घटना भएको भोलिपल्टै प्रहरी वृत्त महराजगन्जमा ठाडो उजुरी दिएका थिए । जससम्बन्धमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट